जेठ १२, सल्यान । मजदुरीकाे लागि दाेलखा जिल्ला पुगेका सल्यानका ५ जना युवाहरू २ महिनादेखि अलपत्र परेका छन् । चैत ४ गते दाेलखा पुगेका सल्यान शारदा नगरपालिकाका ३ जना र कालिमाटी गाउँपालिकाका २ जना गरी ५ जना युवाहरू लकडाउन भएदेखि अलपत्र परेका छन् ।
मजदुरीकाे लागि पुगेकाे ६ दिनमै लकडाउन भएपछि अहिले आफुहरु समस्यामा परेकाे शारदा नगरपालिका ६ बरलाका ताेरण खत्रीले लेकाली अनलाइनलाइ बताए । उनले भने, ‘६ दिन जति काम गरियाे, त्यसपछि अहिलेसम्म काम ठप्प छ । खानाकाे पनि समस्या छ । कहिले कसैकाे घरमा, कहिले कसैकाे घरमा गएर खाना खान्छाैं । हाम्राे उद्दार गरिदिनु पर्याे ।’
उनले आफ्नाे समस्या नगरपालिकामा राखेपनि अहिले उद्दार हुन नसक्ने जवाफ पाएकाे बताए । आफु सँगै काम गर्ने अन्य जिल्लाकालाइ स्थानीय तहले उद्दार गरेर घर लगेपनि आफुहरुलाइ कसैले वास्ता नगर्दा टुलुटुलु हेरेर बस्नुपरेकाे उनकाे भनाइ छ ।
दाेलखाकाे तामाकाेशी गाउँपालिका ५ शहरेमा आफुहरु भएकाे उनले बताए । जसरी पनि घर जान पाए आफ्नाे उद्दार हुने उनिहरूकाे भनाइ छ । भारतमा रहेकालाइ समेत उद्दार गर्न सक्ने सरकारले नेपालमा रहेकालाइ अलपत्र पारेकाे भन्दै उनिहरूले सरकारसँग गुनासाे गरेका छन् ।