जेठ १३, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । आज बिहान मात्रै १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि संक्रमितको संख्या २३ पुगेको हो ।
आज बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये ८ जना वीरेन्द्रनगर नगरपालिकाका, २ जना भेरीगंगा नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।
उनका अनुसार आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्टमा ती १२ जनाको पोजेटिभ आएको हो । उनिहरु केहिदिन अघि भारतबाट आएका थिए ।
कर्णाली प्रदेशमा यसअघि सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए । यसैबीच यसअघि स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएपछि थप परिक्षणको लागि नेपालगन्ज पठाउनुपर्ने बाध्य भएपनि अबदेखि रिकन्फर्मको लागि नेपालगन्ज पठाउनु नपर्ने भएको छ ।