• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

आपुर्ती व्यवस्थालाई सहज गरि सेवा प्रवाह गर्नुस् : महानिर्देशक ढकाल


तुफानबाबु श्रेष्ठ/जेठ १४। कोरोना भाईरस (कोविड १९ ) को कारणले नेपाल लगायत सम्पूर्ण विश्व नै लकडाउनको स्तिथीमा रहेको अवस्थामा नेपालमा अत्यावश्यक सेवाको रुपमा रहेको औषधीजन्य बस्तुहरुको उत्पादन, आयात र वितरणमा आईपरेका समस्या र ती समस्या न्युनिकरणको लागि सम्बन्धित पक्षहरुको भूमिका बिषयमा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

औषधी व्यबस्था बिभाग केन्द्रिय कार्यालय काठमाण्डौको आयोजनामा भएको भर्चुअल डिजिटल अन्तरकृयामा बिभागका महानिर्देशक नारायण प्रसाद ढकालले औषधी उत्पादन, आयात र वितरणमा भएका समस्या दैनिक गतिबिधी र समस्या समाधानका लागि अपनाउनु पर्ने विधी एवम् प्रकृयाको बिषयमा सहभागिहरुबाट विवरणात्मक सुझाव लिनुका साथै सबैलाई आ-आफ्नो ठाउँबाट आपुर्ती व्यबस्थालाई सहज गरी सेवा प्रवाह गर्न आग्रह गर्नु भएको थियो ।

साथै उहाले प्रशासनिक रुपमा आईपर्ने समस्या र गर्नुपर्ने कृयाकलापलाई सहज बनाउन प्रयास गर्ने प्रतिवद्दता पनि जाहेर गर्नु भएको थियो । कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले औषधी सप्लाईको च्यानललाई व्यबस्थित, मर्यादित र सेवामुलक बनाउन औषधी व्यबस्था बिभागको निर्देशनलाई पालना गर्दै उत्पादक संघ, आयातकर्ता संघ र थोक औषधी व्यबसायीको त्रिपक्षिय समन्वय र समझदारीमा व्यबसायिक नितीमा एकरुपता आउने गरी व्यबसायिक निती बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

यस्तो निती बने पछि कार्यान्वयन गर्न तत्परता देखाएमा मात्र आपुर्ती व्यबस्था सहज बनाउन सकिने उहाको धारणा थियो । साथै उहाले औषधी व्यबसायमा बढी अस्वस्थ प्रतिस्पर्धाका कारण उधारो कारोवार बढी हुने भएको हुँदा यथाशिघ्र यसलाई रोक्न औषधी व्यबस्था बिभागले पनि नितिगत सुधारको लागि सहयोग गर्नुपर्ने र व्यबसायीहरु पनि सुधारको लागि प्रतिवद्ध हुनुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल औषधी व्यबसायी संघका केन्द्रिय महासचिव रामचन्द्र शर्माले औषधी आपुर्तीको च्यानललाई व्यबस्थित गरी अत्यावश्यक औषधी जनताको पहुचमा पुर्याउन सम्बन्धित पक्षहरु बिच समन्वय गरी काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

साथै उहाले अहिले औषधी पसल तथा क्लिनिकहरुमा आउने विरामीहरुको सङ्ख्यामा कमी आएको कारण औषधी खपत कम भएको हुँदा कम्पनीहरुको बक्यौता रकम भुक्तानीमा समस्या रहेको बताउनु भयो । कार्यक्रममा नेपाल आयातकर्ता संघका महासचिब पवन आचार्यले सरकारले दिएको अत्यावश्यक सेवा सन्चालन गर्नुपर्ने निर्देशनलाई पालना गर्दै शरीरको जोखिम मोलेर सेवा प्रबाह गरिरहेका औषधी व्यबसायीहरुलाई राज्यबाट प्रदान गरिने व्याजदर छुटमा समाबेश नगरिएकोमा आपत्ति जनाउनु भयो । साथै उहाले अहिलेको यो विषम परिस्तिथीमा औषधीको कारोवारमा निकै गिरावट आएको र बैङ्क ऋणको किस्ता तथा व्याज तिर्न र स्टाफ खर्च साथै घर भाडा तिर्न समेत गार्हो भएको हुँदा अन्य व्यापारीहरु सरह औषधी व्यबसायीलाई पनि राज्यले प्रदान गर्ने व्याजदर छुटको सुबिधा प्रदान गर्न पहल गरिदिनको लागि औषधी व्यबस्था विभागसँग आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष जि नारायण बहादुर क्षेत्रीले वर्तमान परिस्तिथिमा औषधी उत्पादनको लागि कच्चा पदार्थको अभाव हुँदै गईरहेको र आपुर्तीमा ढिलाई हुनुको साथै मुल्य वृद्धि भईरहेको र कच्चा पदार्थ आयातको लागि अग्रिम भुक्तानी गर्नुपर्ने र अरु कार्य गर्न बजारबाट समयमा रकम उठ्न नसकिरहेको हुँदा औषधी उत्पादनमा समस्या भई आगामी दिनमा व्यापक औषधीको अभाव हुने सम्भावना रहेको समेत बताउनु भयो । साथै उहाले अहिलेको यो विषम परिस्तिथीमा सरकारले स्वदेशी कम्पनीका औषधीहरुलाई महत्व दिई उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने र औषधी कम्पनीहरुलाई धरासाही हुन बाट बचाउन राज्यले कम व्याजदरमा ऋण अनुदान प्रदान गरी स्वदेशी औषधी कम्पनीहरुलाई बचाउन राज्य सँग आग्रह गर्नुभयो । कार्यक्रममा आयातकर्ता दिपक तिब्डेवाल, प्रकाश खन्डेवाल र पृथ्वीराज वैध्यले विदेशबाट आयात गर्नुपर्ने क्रिटिकल केयर र लाईफ सेविङ भ्याक्सिन तथा अन्य औषधीहरु आयात भईरहेको र सकभर बजारमा यसको अभाव हुन नदिने प्रयास भईरहेको बताउनु भयो ।

साथै उहाहरुले आयात हुने औषधीहरुको नविकरण र नयाँ औषधीहरुको दर्ता प्रकृयालाई सहज र सरल बनाईदिन औषधी व्यबस्था विभागसँग आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्बर ५ का अध्यक्ष शालिकराम आचार्यले औषधी आपुर्तीमा ढिलाई हुने गरेको कारण बेला बेलामा अत्यावश्यक लाईफ सेविङ र क्रिटिकल केयरका औषधीहरुको अभाव हुने गरेकोले औषधी आपुर्तीको लागि ढुवानी व्यबस्थामा सहजिकरण गर्नुपर्ने बताउनु भयो । साथै उहाले सरुवा रोग लगायत साधारण बिमारीमा प्रयोग हुने औषधीको खपतमा निकै कमी आएको हुँदा थोक व्यबसायीहरु सँग ठुलो परीमाणमा औषधीहरु म्याद गुज्रदै गरेको हुँदा समयमै यसको व्यबस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल औषधी थोक व्यबसायी संघ प्रदेश नम्वर १ का अध्यक्ष बिपुल दास, प्रदेश नम्वर ४ का अध्यक्ष रुद्र मल्ल र नेपाल औषधी उत्पादक संघका महासचिव बिप्लव अधिकारी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार