विश्वभर कोरोनाबाट मृत्यु र संक्रमितकाे संख्या कति पुग्याे ? (अपडेट जेठ १४ गते, साँझ ७ बजे)


जेठ १४, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर काेराेना संक्रमितकाे संख्या ५७ लाख १५ हजार १ सय ३० पुगेकाे छ । यो अवडेट जेठ १४ गते नेपाली समय अनुसार साँझ ७ बजेको हो ।

संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ३ लाख ५२ हजार ९ सय ४ रहेकाे विश्व स्वास्थ संगठनले जनाएको छ । २४ लाख ५४ हजार ९ सय ८५ जना निकाे भएर घर फर्किएका छन् ।

यता नेपालमा कोरोना संक्रमितकाे संख्या ८८६ पुगेकाे छ । आज एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि कुल संक्रमितकाे संख्या ८८६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन्  । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।संक्रमण देखिएकामध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताए ।

संक्रमित मध्ये हालसम्म जसमा ४ जनाकाे मृत्यु भएकाे छ भने १८३ जना निकाे भएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार