जेठ १४, डडेल्धुरा । क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका कञ्चनपुरका एक वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। क्वारेन्टाइन व्यवस्थामा जुटेका कृष्णपुर नगरपालिका वडा नं. ७ का ५८ वर्षीय वडाध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको थियो ।
उनको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। वडा नम्वर ७ कै राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरिरहेका बेला उनी एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै धनगढीस्थित सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना भाइरस रिपोर्ट पनि नेगेटिभ आएको छ। कैलालीको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
उनको बुधबार बिहान ६ बजे आइसोलेसनमै मृत्यु भएको थियो। उनी मंगलबार मात्रै भारतबाट फर्किएपछि आइसोलेसनमा भर्ना भएका थिए। भारतबाट फर्किदा गौरीफन्टा नाकामा बेहोस भएका उनलाई सुरुमा आकस्मिक वार्डमा राखिएको थियो। भारतबाट फर्किएको भन्दै पछि उनलाई आइसोलेसनमा राखिएको थियो।