जेठ १५, काठमाडाैं । रुकुम पश्चिम चाैरजहारीकाे घटनालाइ लिएर सांसद जनार्दन शर्माले एक प्रेस विज्ञप्ती जारी गरेका छन् । शर्माले बुधबार विज्ञप्ति निकाल्दै चाैरजहारी ८ सोती घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मागसमेत गरेका छन् ।
‘चौरजहारी– ८ मा भएको घटनालाई मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रूपमा मैले लिएको छ । यस घटनाको घोर भर्त्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन्, निरपराधी नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो । घटनाको छानबिनमा सहयोग गर्न म पूरै प्रतिबद्ध छु,’ विज्ञप्तिमा शर्माले भनेका छन्, ‘सरकारसँग उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको छु र गर्दछु ।’
उनले चौरहजारीमा चारजना दलित युवाको हत्या र दुईजना बेपत्ता पारिएको घटनालाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । शर्माले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्नका लागि आफूले मंगलबार संसदमा बोल्दै गर्दा बोल्नै नदिएर अवरुद्ध गरिएको र घटनालाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।
दलित जाति हुनुको कारणले घटना भएको र चारजनाको ज्यान गएको र दुईजना बेपत्ता भएको घटना आफैँमा जघन्य रहेको भन्दै शर्माले त्यसमा पनि दलित जातिसँगको प्रेम सम्बन्धको सन्दर्भ जोडिएकाले अक्षम्य रहेको स्पष्ट पारेका छन् । ‘मेरो जीवनको सबैभन्दा ठूलो उद्देश्य भनेकै उत्पीडित वर्गका पक्षमा खडा हुनु हो । यो कुरा मैले दोहाेऱ्याइरहनुपर्दैन । जनयुद्ध होस्, चाहे संविधानको निर्माणको वेला बहसको संघर्षमा होस्, चाहे संविधान कार्यान्वयनमा देखिएका समस्याहरूका विषयमा मेरा खुल्ला विचार र संघर्ष सबैका सामु स्पष्ट नै छ,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।
शर्माले आफ्नो विज्ञप्तिमा घटना संविधानको धारामा दलित अधिकार उल्लेख भएको भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यावहारिक रूपमा समाजलाई रूपान्तरण गर्न अझै सफल नभएको सबैभन्दा नराम्रो उदारण भएको बताएका छन् । उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सामन्ती ब्राह्मणवादी चिन्तनविरुद्ध लड्नुपर्ने र सांस्कृतिक रूपान्तरणका लागि राज्यको साहस चाहिएको बताएका छन् ।
शर्माले रुकुम पश्चिम घटनाबारे मंगलबार संसदमा बोल्दा विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए । शर्माले अनुसन्धान कमजोर बनाउन राजनीतिक हस्तक्षेप नभएको बताएलगत्तै विपक्षी दलका सांसदले विरोध गरेका थिए । विज्ञप्तिमा संसदमा आफूले सबै कुरा राख्न नपाएको शर्माले बताएका छन् ।
संसदमा सांसद शर्माको भनाइ थियो, ‘यो दुःखद र गम्भीर घटना हो । घटनाको प्रकृति, त्यहाँको यथार्थ अवस्था, समग्र विषय अनुसन्धान अध्ययन गर्नका लागि दुवै जिल्लाको स्थानीय प्रशासन अत्यन्तै सक्रियतापूर्वक लागेका छन् । सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न हामी सबैले आफ्नो ठाउँबाट मद्दत गरेका छौँ । स्थानीय पार्टी, स्थानीय सरकार अगाडि बढेको अवस्था छ । यो घटनाको सत्यतथ्य छानबिन हुने कुरामा राजनीतिक दबाब हुन सक्दैन ।’
उनले यति भनेपछि विपक्षी सांसदले उठेर विरोध गरेका थिए । उनीहरूले यो विषयमा गृहमन्त्रीको जवाफ चाहिने भन्दै विरोध जनाएका थिए । केहीबेर सांसद शर्मा र विपक्षी सांसदबीच वादविवाद भएको थियो । सभामुख अग्नि सापकोटाले सांसद शर्मालाई आफ्नो भनाइ टुंग्याउन आग्रह गरेका थिए । आफ्नो भनाइ टुंग्याउँदै शर्माले थपेका थिए, ‘संसदीय समिति वा अन्य समिति बनाएर भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन गर्नुपर्छ । यो घटनालाई राजनीतीकरण कसैले नगरोस् । सत्यतथ्य छानबिनका लागि त्यहाँको जनप्रतिनिधिको हैसियतले म तयार छु । सबै जनता सहयोग गर्न तयार छन् । सरकारले यो घटनामाथि छानबिन गरोस्, दोषीमाथि कारबाही होस् ।’
अन्तर्जातीय प्रेमपछि विवाह गर्न आएका जाजरकोटका दलित युवाहरूको समूहमाथि भएको आक्रमणमा ६ जना भेरी नदीमा बेपत्ता भएका थिए । तीमध्ये चारको शव भेटिएको छ । अझै दुई बेपत्ता छन् । सरकारले छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।