बाँके दुर्घटना परेका यात्रुहरु दाङ, सल्यान र रोल्पाका भएको खुल्यो



जेठ १९, सल्यान । गएराती बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको हाइस दुर्घटना पर्ने यात्रुहरु दाङ, सल्यान र रोल्पाको भएको खुलेको छ । दुर्घटना अहिलेसम्म ज्यान जानेको संख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१ जना घाइतेहरुमा १० जना सल्यान, ६ जना दाङ, ५ जना रोल्पा र एकजना बोल्न नसक्ने अबस्था भएकोले परिचय खुलेको छैन् । उनिहरुको अहिले जिल्ला मात्रै खुलेपनि ठाउँ नखुलेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने १२ जनाको अहिलेसम्म सनाखत भएको छैन् । उनिहरु भारतबाट आएकोले स्वास्थ सुरक्षा अपनाएर मात्रै सनाखत गर्न स्वास्थ्यकर्मीबाट सुझाव आएकोले सनाखतको लागि केही समय लाग्ने बाँके प्रहरीका एसपी बीर बहादुर ओलीले लेकाली अनलाइनलाई बताए ।

घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो । ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ आउँदै थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा गएराती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो। मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार