जेठ २०, काठमाडौँ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनालाई गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकामा भएको अश्वेत नागरिकको हत्यासँग तुलना गरेका छन् । उनले अमेरिकाजस्तो लोकतन्त्र र विकासको उदाहरण भएको मुलुकमा पनि विभेद अन्त्य नभएको बताउँदै नेपालमा जातीय विभेद अन्त्य गर्नका लागि अभियान चलाउनुपर्ने बताएका हुन् ।
संघीय संसद प्रतिनिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको मंगलबार बसेको बैठकमा रुकुममा भएको दलित युवाहरूको हत्याबारे छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले रुकुम घटना जातीय विभेदका कारण भएको बताउँदै सरकारले कानुन भए पनि त्यस्ता विभेद अन्त्य गर्न नसकेको बताएका थिए ।
सांसदहरूका भनाइ सुनेपछि जवाफ दिने क्रममा गृहमन्त्रीले अमेरिकाले पनि जातीय र रंगभेद अन्त्य गर्न नसकेको बताएका हुन् । अश्वेत नागरिक जर्ज फ्लोयडको श्वेत प्रहरी अधिकारीले गरेको हत्या र त्यसपछि अमेरिकामा जारी प्रदर्शनप्रति लक्षित गर्दै गृहमन्त्रीले लोकतन्त्रको व्याख्याता मानिने अब्राहम लिंकन र विभेदका शीर्ष विरोधी मार्टिन लुथर किङको अमेरिकामा रंगभेद र जातीय विभेद अन्त्य हुन नसकेको बताए ।
उनले अमेरिकामा पछिल्लो समय प्रदर्शन भइरहेको बताउँदै नेपालमा भने जनता संयमित रहेकोमा सन्तोष व्यक्त गरे । गृहमन्त्री थापाले नेपालमा कानुनी रूपमा जातीय विभेद अन्त्य भए पनि व्यवहारमा त्यसो हुन नसकेको बताएका थिए ।
‘यसलाई स्वाभाविक सामाजिक प्रक्रियाको रूपमा मानौं । संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना घटेको छ,’ उनले थपे, ‘त्यहाँको घटना र ठीक यही समयमा यहाँ भएको घटनामा केही समानताहरू छन् । तर त्यहाँ राज्यबाटै विभेद भएको छ । कानुनहरू त्यहाँ पनि छन्, कार्यान्वयनमा फितलो छ ।’