जेठ,२१ काठमाडौं । एउटी ८ वर्षीया बालिकाले देशप्रेमको मुद्दालाई यत्ति आकर्षक तरिकाले उठाइदिइन कि उनी भाइरल त बनिन नै हरेक नेपालीको रक्त केशिकामा देश प्रेमको ज्वारभाटा उठाइन । ठूलाठूला आँखा बनाएर गालामा चिटचिट पसिना निस्किने गरी चिच्याउदै परितोशिका कार्कीले हिन्दीमै भारतीय कदमको विरोध र नेपाली स्वभिमानको चर्को आवाज उठाउँछिन । दुइ हप्ताअघि फेसबुक लाइभमा उनले भनेकी छन ‘नमस्ते म परि, फेरि आए । भारत के सम्झन्छ, उ आफूले आफैँलाई नै ठूलो देश ठान्छ ? हामी पनि ठूलो छौं, हामी पनि बहादुर छौं ।
भारतलाई हामी सिकाउने छौं, हामी को हौं भनेर । हामी नेपाली बहादुरी छौं । त्यो भारतलाई हामीले सिकाउनेछौं । भारतले हाम्रो देशको जमिन लिँदैछ । कालापानी, लिपुलेक हाम्रो लागि धेरै जरुरी छ । यो भारतले हाम्रो अपमान गरिरहेको छ । यो कस्तो हो ! म उनीहरूको सरकारलाई चुनौती दिन्छु । किनकि हामी पनि कोहीभन्दा कम छैनौं । यो चुनौती उनीहरूलाई पनि दिउँ । यो सोचुन कि युद्धबाट हाम्रो धेरै क्षति हुन्छ । हामी नेपालीहरू कमजोर छैनौं ।
हामी सानो देखिन्छौं, कमजोर देखिए पनि हाम्रो दिल त्यो भारतीयहरूको भन्दा पनि ठूलो छ । तपाईहरूले देशको रक्षा गर्नुछ । तपाईहरू कमजोर होइन बहादुर हुनुहुन्छ । यो देशको सिपाहीहरूलाई मेरो तर्फबाट सलाम छ । अब तपाईहरू भारतसँग लड्नु पर्छ । तपाईहरू सबै लड्नुहोस । ताकत देखाउनु जरुरी छैन तर लड्नु जरुरी छ । किनकि त्यो भारतले हाम्रो नेपालको भुमि खोस्ने कोसिस गर्दैछ ।’
उनी भन्छिन ‘के हामी यिनीहरूसँग लड्नु पर्दैन ? के हामी यत्तिकै हेरिरहने हो र ? हामी लड्नुपर्छ । नत्र हामी नेपालीको त इज्जत नै गइसक्यो, सम्झनोस् । ती इन्डियनहरूलाई हामी सिकाउनु पर्छ कि हामी नेपाली को हौं । हामी नेपाली हौं, संस्कारी छौं । म संस्कारी तरिकाले भन्दैछु । भारतसँग जित्छौं या हार्छौं, केही फरक पर्दैन, केही नभए पनि हामीले हिम्मत त देखाउँ । एउटा–एउटासँग लडेर होइन ।
हामी एकजुट बनेर, राक्षसको रुप लिएर एकैपटक हमला गर्नुपर्छ । म यो भन्दै छु कि भारतले हाम्रो धेरै जग्गा लगिसकेको छ । हामीसँग सबै देश डराउँछ । गोर्खालीको छोराछोरी हो । ती भारतीयहरूलाई हामी सिकाइदिने छौ । भन्नुहोस् के तपाईहरू मेरो साथ हुनुहुन्छ ? अब म चुप बस्दिन, लडाइँ गर्नलाई तयार छु ।’ उक्त भिडियो हेरेपछि उनलाई भारतीय पक्षले गाली पनि गरेका थिए ।
उनी भन्छिन ‘मलाई भारतीयहरूले गाली गर्दा मलाई नराम्रो लागेको थियो तर पनि म मेरो देशको लागि बोली रहन्छु । म मेरो देशमा हुर्केकी हुँ र यही देशको नागरिक भएर मर्न पाउँ म यही चाहन्छु ।’ भिडियो अनुसार उनको अभिनयमा देखिएको उर्जा, भाव र राष्ट्रप्रेममा गरिएको एउटा फेसबुक लाइभले भाइरल बनेकी हुन ।
रामेछाप बाम्तीभण्डार घर भई काठमाडौंको काराघारीस्थित न्यु स्टार पोल सेकेण्डरी स्कुलको कक्षा–४ मा अध्ययनरत विद्यार्थी हुन । उनी कक्षाकी प्रथम विद्यार्थी पनि हुन। विद्यालयमा उनको लगाव खेलकुदमा छ । व्याडमिन्टन, हाइजम्प, रनिङ लगायतका प्रतियोगितामा उनले मेडल पनि जितेकी छन । उनी भन्छिन ‘म खेलकुदमा पनि राम्रो गर्छु । पढाइमा पनि फस्र्ट नै हुन्छु । धेरै मेडल जितेको सुरक्षित राखेर आमालाई दिनुछ ।’
उनको लगाव खेलकुदमा, सपना वैज्ञानिक बन्ने रहे पनि दैनिक व्यवहार भने अभिनय केन्द्रित छ । उनका बुबा नविन कार्की भन्छन् ‘कहिले ऐनाको अगाडि त कहिले गुडियाको अगाडि बसेर आफै अभिनय गरेर बस्छिन ।’ तर परितोशिका भने वैज्ञानिक बन्ने सपना रहेको बताउछिन ‘म पढाईमा मेहनत गर्छु अनि पछि अमेरिका गएर वैज्ञानिक बन्छु अनि नेपालमा आएर सेवा गर्छु । म यो कोरोनाजस्ता भाइरसको औषधि बनाउन सक्ने वैज्ञानिक भएर नेपालमा काम गर्ने सपना छ ।’
उनका बुबा एक सफल संगितकार हुन । उनले २ सय भन्दा बढी नेपाली गीतमा संगीत भरेका छन । त्यसैले छोरीलाई गायिका बनाउन चाहन्छन । उनले संगीत नसिकाएको पनि होईन । संगीत सिकाए, गीत गाउन प्राक्टिस पनि गराएको उनले बताए । परितोशिकाका बुबा नविनका अनुसार छोरीको चासो नै नभएपछि अहिले गीत र संगीत सिकाउन छोडेका छन । छोरीको दैनिकी र व्यवहार हेर्दा प्रेजेन्टेशन र अभिनयमा उच्च मनोबल रहेको बुबाको भनाइ छ ।
उनको सपना वैज्ञानिक बन्ने छ । तर उनी दैनिक विभिन्न कलाकारहरूको ‘क्यारिकेचर’ गर्न प्रयास गरिरहन्छिन । लकडाउनको समयमा टिकटक बनाउने र फेसबुक लाइभ आउने क्रम बाक्लै रह्यो । जब उनले भारतीय अतिक्रमणविरुद्ध फेसबुकमा बोलिन तब उनको चर्चा एकाएक सुरु भयो । उनी भाइरल मात्र भइनन । फेसबुकमा भारतीय कदमको बारेमा लाइभ बसेको तेस्रो दिनमा उनलाई फिल्म खेलाउने अफर समेत आएको परितोशिका बताउछिन ।
उनका बुबा नविन कार्कीका अनुसार छोरीलाई नाई नभन्नु ६ निर्माण टिमका एक जिम्मेवार सदस्यले म्यासेज गरेका हुन ‘नानु तपाईंको आवाज र तपाईंको बोल्ने शैली एकदमै राम्रो छ । तपाईंको भविश्य धेरै उज्जवल छ त्यसैले मैले तपाईंलाई नाई नभन्नु ६ फिल्ममा खेलाउने निर्णय गरेको छु । अहिले लकडाउन छ, लकडाउन सकिएपछि तपाईंको बाबा-आमासँग सल्लाह गर्न आउनेछु ।’ परितोशिकाका अनुसार चलचित्र ‘नाई नभन्नु ल’को अघिल्ला सिरिजका बाल कलाकार ठूला भइसकेकाले निर्माण पक्षले उनलाई यो अवशर दिएका हुन ।