नेपालकाे नयाँ नक्सा विरुद्ध उत्रिइन् सांसद गिरी, समाजवादी पार्टीले दियाे यस्ताे चेतावनी


जेठ २८, काठमाडौं । भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संसद सचिवालयमा संशोधनको सूचना नै दर्ता गराएकी छन् । नयाँ नक्सा जारी गर्दा भारतलाई सोध्‍नुपर्ने तथा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय भूमि रहेको विवादित अभिव्यक्ति संसदमै दिँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा ‘नेपालको नक्सालाई संशोधन गर्न बनेको विधेयक’विरुद्ध संशोधनको सूचना दर्ता गराएकी हुन् ।

संसद सचिवालयमा दिइएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन आग्रह गरिएको छ। उक्त विधेयको दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी सरकारले विधेयक प्रस्तुत गरिसकेको छ। विधेयकमा संशोधन दर्ता गराउन मंगलबार साँझदेखि ७२ घण्टाको समय दिइएको छ।

उनले संसद सचिवालयमा दर्ता गराएको संशोधनको सूचनामा स्रोत र प्रमाणबिना नेपालको नयाँ नक्सा जारी भएको जिकिर गरेकी छन्। गिरीले निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक खारेज गर्न मागसहित संसद सचिवालयमा संशोधनको सूचना दर्ता गराएकी हुन्।

विधेयक फिर्ता नलिए कारबाही गर्ने समाजवादी पार्टीकाे चेतावनी

यसअघि नै उनको दल जनता समाजवादीले भारतले हडपेको भूमि समेटिएको नक्सालाई आधिकारिकता दिने गरी संसदमा दर्ता भएको संशोधन विधेयकमा समर्थन जनाइसकेको थियाे । संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं’, अरगरियाले भने, ‘नभए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख गरेको छु।’

भारत बिहारको हाजिपुर–सोनपुरमा जन्म भएकी गिरीलाई लक्षित गर्दै नेकपाकी सांसद गंगा चौधरीले केही दिनअघि ‘भारतीय चेली’को संसदमा दादागिरी देखिएको टिप्पणी गरेकी थिइन्। जसलाई हटाउन उनले संसदमा सभामुखसमक्ष माग गरेकी थिइन्। सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची-३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो ।

गिरीकाे यो अभिव्यक्तिपछि सांसद गंगा चौधरीले कडा प्रतिक्रिया दिँदै भारतीय चेलीहरुलाई ठेगानमा राख्नुपर्ने बताएकी थिइन्।  बधुबार मात्रै सत्तारुढ नेकपा र कांग्रेसनिकट भातृसंगठनले सरिता गिरीको अभिव्यक्ति आपत्तिजनक भन्दै उनीमाथि देशद्रोहको मुद्दा चलाउन माग गरेका थिए।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार