कोरोनालाई जितेर सल्यानका २ जना युवा घर फर्किए


जेठ २९, सल्यान । काेराेनालाइ जितेर सल्यानमा पहिलाेपटक २ जना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णाली प्रदेश अन्र्तगतको कोरोना अस्पताल सुर्खेतको आइसोलेसनमा रहेका उनीहरु कोरोनालाई जितेर बिहीबार घर फर्किएको सरुवा रोग बिशेषज्ञ डा. इन्द्र थापाले जानकारी दिए ।

भारतबाट फर्किएका उनीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि उपचारको लागी सुर्खेत लगिएको थियो । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का २० बर्षिय र वडा नम्वर ५ का ३३ बर्षिय दुई जना यूवाहरुले कोरोना जितेर घर फर्किएका हुन् ।

आइसोलेसनमा राखिएको १० दिनपछि निको भएर उनीहरु घर फर्किएको अस्पतालले जनाएको छ । पछिल्लो पटक गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

कोरोना भाइरस लागेको कुनै महसुस नै नभएको ३३ वर्षका महेन्द्र बुढाकाे प्रतिक्रिया छ। कोरोना पोजेटिभ रिपोर्ट आउँदा मन आत्तिएको भए पनि यही भाइरसका कारण मर्छुजस्तो नलागेको बुढाले बताए। उनले भने, ‘जति मानिस आत्तिए पनि यससँग भाग्न सक्ने अवस्था पनि छैन। त्यसकारण मानिसका सामु भाइरसको मुकाबिला गर्नुबाहेक उपाय नै छैन।’

भाइरससँग लड्ने मुख्य अस्त्र भनेको आत्मबल र शारीरिक व्यायाम नै रहेको उनी बताउँछन्। भाइरस लाग्दैमा आत्तिने भन्दा उनले मनोबल बढाउन आग्रह गरे।  उनले भने, ‘भारतबाट गाउँ फर्किएपछि स्थानीय पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखियो, क्वारेन्टाइनमा पिसिआर जाँचका लागि स्वाब संकलन गरियो।’

रिपोर्टमा मसँगै २५ जनाको पोजेटिभ आयो। उपचारका लागि मसहित १२ जना सुर्खेतस्थित प्रदेश अस्पताल गयौं, अहिले जितेर पनि दुई जना आएका छौं,’ उनले भने,’उच्च मनोबल र आत्मविश्वास भएका कोरोनालाई जितिन्छ ।’

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार