डिजिटल प्रेमी


कविता

म तिमीलाई सपनामा भेटेर पनि
माया गर्छु भन्न सक्तिन
तिमी सपनामै लज्जावती बनेर

बर्कोले अनुहार छोपेर
रातो गाला पार्छ्यौ
त्यो म महसुस गर्छु

मेरो छातीमा उफ्रिरहेको मुटुको वेग
तिमी महसुस गर्न सक्छ्यौ
सायद त्यो  हाम्रो प्रेम थियोे ।

मुटुलाई जस्तै जतन गरेर राखेको
गोप्य गाडधनजस्तै
आँखालाई जस्तै जोगाएर राखेको

पवित्र भगवानजस्तै
खै कस्तो अदृश्य बन्धन
नदेखेर पनि देखिने

नपाएर पनि पाइने
सायद त्यो हाम्रो प्रेम थियोे ।

तर
जमाना बद्लिएछ
समयले कोल्टो फेरेछ

हिजोआज त डेटिङमा
प्रेम उत्ताउलिनु पर्छ रे
फेसबुकमा इन रिलेसन विथ

भनेर लेखिनु पर्छ रे
चोक चौतारीमा
भक्भकी उम्लिएर

छ्याल्छ्याल्ती पोखिनु पर्छ रे
भेलेन्टाइन डे मा
रातो फूल दिएको सेल्फी खिचेर
वालमा पोस्ट गर्नुपर्छ रे

फिल्मी शैलीमा
खै के खै के गर्नुपर्छ रे
सायद डिजिटल प्रेम भनेको यही हो ।

प्रेम पुरानो हुन्छ र?
तर यो डिजिटल युगमा
डिजिटल मुटुहरु बोकेर

डिजिटल प्रेम गर्नैपर्छ
हामी पनि हाम्रो प्रेमलाई
डिजिटलाइज्ड गरौं

अनि हामी पनि बनौ
“डिजिटल प्रेमी”।

प्रकाशित मिती २०७७ जेठ ३१ गते

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार