कविता
हिजो दृश्य थियो, बाटो थिएन ।
आज बाटो छ, दृश्य छैन ।
हिजो लाग्थ्यो, उड्न पाए हुन्थ्यो ।
आज उड्न त सक्छु, तर लाग्छ कता उडूँ ।
स्वतन्त्रताको पर्खाइमा काल बिते
आज यहि खुलापन पनि
पिँजडाभन्दा जन्जिर देख्छु म
अदृश्य पर्खालको घेराईमा डुबेको छु म ।
एउटा सानो शुन्यबाट
ठूलो शुन्यमा पुगेको छु
कोखको शुन्यबाट
पिंजडाको शुन्यमा पुगेँ
आज त्यो पिंजडाको शुन्यबाट
झन् ठूलो शुन्यमा पुगेँ
स्वयं जगतको शुन्यमा पुगेँ म ।
यो शुन्यमा शुन्यसरी बग्न मन छ
तर केहि भ्रम अनि मित्थ्याहरू पर्खाल बनि खडा छन् ।
सब बोध छ
तर पनि बाध्य छु ।
म शुन्यको अर्थ खोज्न
कथा र कल्पनाको चाङ बुनि
एउटा भ्रमको सिर्जना गर्न पुगे म ।
शुन्यलाई अर्थ दिन पुगे
अर्थको अर्थ खोज्दा
रूमलिन्न पुगेँ म ।
लैजाऊ मलाई फेरी त्यहि पिँजडाको काखमा
जहाँ संसार सानो छ
सानो भए पनि आफ्नो छ ।
जहाँ संसार आफ्नो भन्दा आफ्नो मालिकको छ ।
हे मालिक
मलाई आफ्नो पिंजडामा फेरी बाँध
मेरा पाइलाहरू आफूँसँगै लग ।
म समर्पण गर्छु तिमीमा
तिम्रा हर इच्छा अनि चाहनामा ।
मैले बुझिसके
मेरो केहि छैन
यो सब शुन्य हो
र यो शुन्यतामा तिमीसँगै बग्न देऊ ।
हे मालिक, यो शुन्यतामा तिमीसँगै बग्न देऊ
मलाई पनि शुन्य बनि , शुन्यसँगै बग्न देऊ ।