असार ५, सल्यान । सल्यानको शारदा नगरपालिकामा क्वारेन्टाइनमा बस्नेहरुकाे व्यवस्थापन राम्राे भएकाे कारण अहिलेसम्म काेराेना नदेखिएकाे नगरप्रमुख सुरेश अधिकारीले बताएका छन् । कोभिड –१९को अवस्था र स्वास्थ्य चुनौतीका विषयमा शुक्रबार पत्रकारसँग भएकाे छलफल कार्यक्रममा बोल्दै मेयर अधिकारीले शारदा नगरपालिका भित्र क्वारेन्टाइनकाे व्यवस्थापन अन्य स्थानीय तहभन्दा राम्राे भएकाे बताएका हुन् ।
नगरभित्र १२ वटा क्वारेन्टाइन भएकाे बताउँदै मेयर अधिकारीले सिमित संख्यामा राम्राे व्यवस्थापन सहित राखिएकाे कारण अहिलेसम्म काेराेना नदेखिएकाे बताए । उनले भने, ‘हाम्राे नगरका नागरिक सँगै आएका अन्य स्थानीय तहका नागरिकहरुमा काेराेना देखियाे तर सँगै आएका हाम्राे नगरका नागरिकमा काेराेना देखिएन् । हाम्राेमा व्यवस्थापन राम्राे भएकाे कारण काेराेनाले थिच्न नसकेकाे जस्ताे हामीलाइ लागेकाे छ ।’
क्वारेन्टाइनमा अहिलेजस्तै व्यवस्थापनलाइ राम्राे बनाएर अझै निरन्तरता दिने उनकाे भनाइ छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर परिक्षणकाे जतिसक्याे छिटाे जाँच गर्न आफुले टाढाका जिल्ला सम्म पठाएर भएपनि काम गरेकाे मेयर अधिकारीले बताए ।
क्वारेन्टाइनमा बस्नेकाे चित्त बुझाउन सकिएन
क्वारेन्टाइनमा बस्नेलाइ जति राम्राे गरेपनि चित्त बुझाउन नसकिएकाे मेयर अधिकारीकाे भनाइ छ । पहिला प्रतिछाक एकसय ५० रूपैयाँ सम्मकाे खानाकाे व्यवस्था गरेपनि पछि केन्द्र सरकारकाे निर्णय अनुसार प्रतिछाक ७५ रुपैयाँकाे खानाकाे व्यवस्था गरिएकाे नगरप्रमुख अधिकारीले बताए ।
मेयर अधिकारीले भने, ‘उहाँहरु घरकाे जस्तै खाेज्नुहुन्छ, यहाँ घरकाे जस्ताे त कहाँ हुन्छ र ? तैपनि हामीले राम्रै गरेका छाैं । तर उहाँहरुकाे चित्त बुझाउन गाह्राे छ ।’ अहिले अन्य विकासका काम छाेडेर भएपनि काेराेना राेकथाका लागि आफुहरु लागिरहेकाे मेयर अधिकारीले बताएका छन् ।
जोखिमको अवस्था कम नभएकाले बैदेशिक रोजगारी बाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने काम नगरपालिकाले हाल सम्म पनि गरि रहेको छ । शारदा नगरपालिकाका काेराेना फाेकलप्रसन रविन विष्टले जानकारी दिए ।
नीति तथा कार्यक्रममा स्वास्थ्य पहिलाे प्राथामिकतामा
शारदा नगरपालिकाले स्वास्थ्य, कृषि रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम ल्याउने भएको छ । महामारीको चपेटमा परेको बेला स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट विनियोजन गरी रोजगारी सिर्जनामा केन्द्रित हुनने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर सुरेश अधिकारीले रोग र भोकसँग लड्न नगरपालिकाले शोही अनुसारको नीति तथा कार्यक्रम ल्याउने बताए । उनले भने ‘विश्वभर फैलिएको कोरोना भाइरस लगायत अन्य महामारीका विरुद्ध लड्न स्वास्थ्य व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेर कार्यक्रम बनाउदै छौं ।’ भाइरसका कारण विदेशबाट सयौंको संख्यामा नगरबासी आएकाले उत्पादनमा जोड दिन जनसहभागिता जुटाएर आयमुलक कार्यक्रम सञ्चालन गरिने बताए ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शारदा उपप्रमुख सावित्रा बस्नेत,स्वस्थ्यकर्मी,पत्रकार लगायतको सहभातिा रहेको थियो । स्वास्थ्यकर्मी विरेन्द्र हमालाले संचालन गरेकोे कार्यक्रममा सहभागी पत्रकारहरुलाइ फिल्ड रिपोर्टिङमा सहज होस भनेर सेनिटाइजर र मास्क समेत वितरण गरिएको थियो ।