लकडाउनमा सहकारी संस्थाले ब्याज असुलेको भन्दै नेकपा सल्यानको विज्ञप्ती


असार ६, सल्यान । लकडाउनले नागरिकको जनजिवन कष्टकर भैरहेको बेला वितिय संस्थाहरुले ब्याज असुली गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी तुफानका नामबाट शुक्रबार जारी प्रेस विज्ञप्तीमा सल्यानमा सहकारी संस्थाले गाउँमा गएर समुहहरु भेला गरी ब्याज र लेवि रकम संकलन गरेको भन्दै त्यस्तो कार्य रोक्न भनिएको छ । सो पार्टीले नामै किटाएर बागचौर नगरपालिकाको थारमारेमा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्थाले गाउँमा गएर समुहहरु भेला गरेर ब्याज र लेवि रकम संकलन गरेको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस्तो माहामरीको जोखिम मानवजातिले बेहोरिरहेको बेला उक्त कार्य गर्ने सहकारी संन्चालकलाइ गम्भीर चेतावानी दिन्छौ र उप्रान्त अटेरी गरे कार्वाही अगाडी बढाइने समेत यसै बिज्ञपति मार्फत स्पष्ट गर्दछौ ।’ त्यस्तै अहिले महामारीको समयमा सहाकारी तथा बैंकहरु गाउँमा पसेर यस्तो कार्य गरेको पाइएमा गाउँबाट लखेट्न समेत सो पार्टीले आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार