असार ६, सल्यान । मदन भण्डारी राजमार्ग राेल्पा र सल्यान हुँदै निर्माण हुनेगरी संशोधन भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत मदन भण्डारी राजमार्गको केहीं भाग संशोधन गरिएकाे हाे । संशोधित आयोजना अनुसार अब मदन भण्डारी राजमार्ग रोल्पाकाे लिबाङ, घर्तिगाउँ, जिनाबाङ हुँदै सल्यानकाे माेख्ला, सितलपाटी, खलंगा हुँदै बालुवासंग्रहीबाट बाेटेचाैर पुग्नेछ ।
रोल्पा स्थायी घर भएका उपराष्ट्रपति नन्दबहादु पुन ‘पासाङ’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ लगायतका नेताहरुले मदन भण्डारी राजमार्गलाई रोल्पा हुँदै अगाडि बढाउने गरी सुरुदेखि पहल थालेका थिए । तर याे राजमार्ग प्युठानबाट दाङ हुँदै सुर्खेत जाेड्ने भन्दै उता निर्माण कार्य भैरहेकाे थियाे ।
यसपटक भने नयाँ बजेटको रातो किताबमा उल्लेख भएअनुसार मदन भण्डारी राजमार्ग गुल्मीको रिडी, प्यूठानको बिजुवारबाट सिधै रोल्पाको लिबाङ, सल्यानको शितलपाटी हुँदै सुर्खेत जाेडिने भएकाे छ । आयोजनाको यस भागलाई रीडी–बिजुवार खण्ड, लिबाङ, शितलपाटी–बोटेचौर खण्डमा विभाजन गरिएको छ ।
यी खण्डमध्ये आगामी आर्थिक वर्षमा सिमलटारी–सौतामारे १५ कि.मि. तथा रिडी–बलकोट गोखुङ्गा ५५ कि.मि. खण्ड कालोपत्रेका लागि ठेक्कापट्टा हुनेछ । लिबाङ–शितलपाटी–बोटेचौर खण्डको १४० कि.मि. सडकको डीपीआर तथा आईईई/ईआईए अध्ययन सम्पन्न हुनेछ ।