असार १०, तनहुँ । तनहुँमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाकाे घिरिङ गाउँपालिकाका निवासी ४९ वर्षीय व्यक्तिले मंगलबार राती पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् ।
भारतबाट गत असार ४ गते घर आएका उनलाई शुरुमा सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियाे । त्यहाँबाट भाग्ने प्रयास गरेपछि गाउँपालिकाले सुरक्षितकाे लागि चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेटाइनमा राखेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार हाल उक्त क्वारेटाइनमा चार जना बाँकी छन् । “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”
तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।