असार ११, सल्यान । सल्यानमा एकैपटक ८४ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । बिहिवार खलंगाकाे लुहापिङ आइसाेलेसनमा रहेका ८१ र सल्यान जिल्ला अस्पतालमा रहेका ३ जना गरि ८४ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिकाका ५७ जना, बागचाैर नगरपालिकाका ९ जना, त्रिवेणी गाउँपालिकाका ५ जना, कालिमाटीका २ जना, कपुरकाेटका एकजना, सिद्ध कुमाख, दार्मा र कुमाख गाउँपालिकाका तीन/तीन जना रहेका छन् ।
याे संगै सल्यानमा काेराेना भाइरसबाट सल्यानमा निकाे हुनेकाे संख्या १५० पुगेकाे छ । यसअघि सल्यानमा ६६ जना निकाे भएर डिस्चार्ज भएका थिए । कुल १७३ जना संक्रमित मध्य अब २३ जना मात्रै उपचारमा रहेका छन् ।
लुहापिङ आइसाेलेसनमा १२ जना, सल्यान अस्पतालमा ५ जना, प्रभाकर मावि बनगाड आइसाेलेसनमा ४ जना र मिसन अस्पताल चाैरजहारीमा २ जना गरी २३ जनाकाे उपचार भैरहेकाे छ ।
निकाे भएकाहरु नाच्दै घर गए
बिहीबार निकाे भएर डिस्चार्ज भएकाहरु खुसीले नाच्दै घर गएका छन् । एक हप्ताभन्दा लामाे समय सँगै आइसाेलेसनमा बसेका फरक फरक पालिकाका उनिहरु हात हल्लाउदै आ-आफ्नाे पालिकाकाे गाडीमा गएका हुन् ।
घर जानुअघि उनिहरुले लुहापिङकाे मैदानमा सामुहिक नाचगान गरेर बिदा भएका हुन् । उनिहरुकाे याे खुसीले ठुलै युद्द लडेजस्ताे भाव देखिन्थ्याे । निकाे भएका उनिहरुले काेराेना सामान्य राेग भएकाे तर बढी नकारात्मक प्रचार भएकाे प्रतिकृया दिएका छन् । मनाेभाव कमजाेर नभइ दरिलाे बनाउने र सरसफाइमा ध्यान दिने हाे भने काेराेनाबाट जाे काेहि पनि निकाे हुने उनिहरुकाे भनाइ थियाे ।