सल्यानकाे दार्मामा कर्मचारीमा देखियाे काेराेना, गाउँपालिकाका सबै कामकाज बन्द


असार १६, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा दुइजना कर्मचारीलाइ काेराेना संक्रमण देखिएपछि गाउँपालिकाले तत्कालकाे लागि सबै कामकाज बन्द गरेकाे छ । साेमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परीक्षणमा २ जन कर्मचारी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

उनीहरुलाई गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए ।कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि सबै सेवा प्रवाह बन्द गरेको जनाएको छ ।

कोरोना पुष्टि भएपछि गाउँपालिकाले १० गते बजेट सार्वजनिक गरी पुन: १५ गते बस्नेगरी स्थगित गरेको गाउँसभा समेत अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ ।

मंगलबार गाउँपालिकामा कार्यरत कर्मचारी, छानिएका स्वयमसेवक, क्वारेटाइनमा रहेका व्यक्ति, कन्ट्याक्ट ट्रेसिङमा देखिएका व्यक्ति र सबै जनप्रतिनिधिहरुको पिसीआरका लागि स्वाब संकलन गर्दै छ । दार्मा गाउँपालिकामा यसअघि पनि ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबै निको भएर घर फर्किसकेका थिए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार