सल्यानका विभिन्न ठाउँमा भित्रियो सलह किरा, कपुरकाेटमा एक डब्बा संकलन


असार १६, सल्यान । सल्यानमा पनि सलह किरा भित्रिएको छ । सल्यानका विभिन्न ठाउँमा सलह किरा देखा पर्न थालेकाे हाे ।

शारदा नगरपालिका, कपुरकाेट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, बागचाैर नगरपालिका लगाएतका ठाउँमा सलह किरा देखिएकाे त्यहाँका स्थानीयहरुले बताएका छन् । शारदा नगरपालिका १ श्रीनगरमा घरकाे गमलामा लगाएकाे सिमीकाे बाेटमा मंगलबार सलह किरा देखिएकाे स्थानीय मदन कुमार भण्डारीले लेकाली अनलाइनलाइ जानकारी दिए ।

पहिला गाउँघरमा देखिने फट्याङ्ग्रा किरा जस्तै भएकाे तर बिरुवाकाे पात अत्याधिक मात्रमा खाने गरेकाे उनले बताए । उनले भने, ‘हामी सबैले बिहान हेरिउँ याे सलह किरा नै हाे । हावाकाे बेगमा कुनै समुहबाट बिछाेडिएर आएकाे हुनुपर्छ । हामीले हेर्दाहेर्दै एकैछिनमा सिमीकाे पात खायाे ।’

त्यस्तै छत्रेश्वरी गाउँपालिकाकाे दहखाेलामा पनि सामान्य खालकाे हुलमा सलह किरा भेटिएकाे बताइएकाे छ । शारदा नगरपालिका ५ पिपलनेटामा पनि सलह फेला परेकाे स्थानीय मेघा रेउलेले बताएकी छन् ।

उता कपुरकाेटमा पनि सलह भेटिएकाे छ । कपुरकाेटमा सलह देखिएपछि स्थानीयले छाेपेर एक डब्बा भरी राखेका छन् । सल्यानमा देखिएकाे सलह धेरै ठुलो समूहमा छैन । कतैबाट छुट्टएिर आएको सानो झुण्ड भएकाे हुन सक्ने विश्लेषकहरुले बताएका छ्न् ।

यता कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जिल्लाका बिभिन्न ठाँउहरुमा सलहको झुण्ड देखिएको तर यस बारेमा पुष्टि गर्न भने बाँकी रहेको बताएका छन् । सानो सानो झुण्डमा सलह देखिएको किसान तथा स्थानिय तहमा रहेका कृषि शाखाबाट जानकारी प्राप्त भएको बताउदैँ उनले यस बारेमा पुष्टी हुन नसकेको बताए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार