सल्यानकाे हिमदर्शन पार्क पर्यटकीय गन्तव्य बन्दै


असार २८, सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्वर ५ रानिकोटमा रहेको हिमदर्शन पार्क पछिल्लाे समय घुम्न लाएक ठाउँ बन्दै गएकाे छ । शारदा नगरपालिकाले यहाँ पर्यटकीय आर्कषणका लागी विभिन्न संरचनाहरु निर्माण गर्न थालेपछि अहिले यहाँ आन्तरिक पर्यटकहरुकाे गन्तव्यकाे राेजाइ बन्न थालेकाे हाे ।

यस वर्ष मात्रै ३ लाख ५० हजारको लागतमा विभिन्न संरचना निर्माण गरिएको छ । पार्कमा निर्माण गरिएका विभिन्न संरचनाहरुको आइतवार शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले उद्घाटन गरेका छन् ।

पार्क भित्र राखिएका विभिन्न विश्राम सामग्रीहरुको उद्घाटन गर्दै उनले हिमदर्शन पार्कलाई पर्यटकिय गन्तब्य बनाउनको लागि नगरपालिका प्रयासरत रहेको बताए । यसको प्रचारप्रसार र आबश्यक संरचना निर्माणमा नगरपालिकाले बिशेष ध्यान दिने उनको भनाई छ ।

खुला आकाश मुनीकाे याे रमणिय ठाँउमा शनिवार र बिदाको दिनमा घुम्न आउनेहरुको संख्या धेरै हुने गरेको वडाअध्यक्ष प्रदिप शाहीले बताए । हिमदर्शन पार्कमा अबदेखी प्रवेश शुल्क लाग्ने उनकाे भनाइ छ । हालसम्म निःशुल्क रुपमा प्रवेश दिदैँ आएको यस पार्कमा अब देखी शुल्क लाग्ने र मूल्य निर्धारणको लागी नगरपालिकामा सिफारिस गरेकाे उनले बताए ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार