प्युठानकाे स्याउलीवाङमा फेरि किसानले छाेपे २० क्विन्टल सलह किरा


नवराज राना मगर

नवराज राना मगर/ साउन ८, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–१, स्याउँलीबाङका किसानले धमाधम सलह संकलन गर्न थालेका छन् । गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिन थालेपछि किसानले मंगलबारसम्म २० क्विन्टल सलह संकलन गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष विकले जानकारी दिए ।

किसानले सलह छोपी बोरामा राखेर वडा कार्यालयमा बुझाउने गरेका छन् । वडाले किसानले ल्याएको सलह तौलेर नगद दिँदै आएको छ । स्याउँलीबाङमा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सलह कीराले किसानको बालीमा क्षति गरेको छ ।

बालीमा धेरै क्षति गरेपछि गाउँभरका किसानले सलह संकलन गर्न थालेको नौबहिनी–१ का वडाध्यक्ष शेरबहादुर सेनले बताए । मकै, कोदोसहित डाँले घाँससमेत सलहले नोक्सान गरेको र अझै पनि स्याउँलीबाङ क्षेत्रको जंगलमा सलह बास बसेको उनले जानकारी दिए ।

सलहले स्याउँलीबाङको खलेसबाङ, खारखोला, मड्धारा, छेपेवडारलगायत बस्तीमा धेरै नोक्सानी गरेको छ । उच्च पहाडी क्षेत्रमा सलह पुगेपछि चिसोका कारण धेरै सक्रिय नभएकाले समात्न सकेको किसानहरूले बताए । ‘सुरुमा गाउँमा आउँदाखेरी सलह धेरै चलाख थिए, छोप्न मुस्किल पर्थ्यो,’ किसान लछुमन बुढाले भने, ‘चिसो हावापानीका कारणले होला अहिले त सलह भुइँमै बसेका छन् । हिजोआज धेरै उड्न सक्दैनन् । छोप्न सहज छ ।’

मंगलबारसम्म १ सय ५९ जना किसानले २० क्विन्टल सलह वडा कार्यालयमा ल्याएको नौबहिनी गाउँपालिकाले जनाएको छ । खेत, बारी, पाखापखेरामा सलहका हूलका हूल झुन्ड रहेकाले दिनमा ३०/४० किलोसम्म सलह जम्मा गर्न सकिने स्थानीय नौमती बुढाले बताइन् ।

नौबहिनी–१, स्याउँलीबाङका किसानले संकलन गरेको सलह कीराको अवलोकन गरी नष्ट गर्न कृषि शाखाबाट टोली मंगलबार स्याउँलीबाङ पठाइएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा कृषि शाखाका कर्मचारीले नौबहिनी–१ मा २० क्विन्टल सलह खाडलमा पुरेको भण्डारीको भनाइ छ ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार