• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

चितवनका गाईमा देखियो नयाँ भाइरस संक्रमण


साउन १७, चितवन । चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।

गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।

शुरुवातमा राप्ती नगरपालिकामा देखिएको सो रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए । अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ ।

यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताए । उनले भने, ‘असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौं ।’

कार्यालयले रोगबाट सङ्क्रमित घरधुरी र गाईको सङ्ख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले बताए । कृषि मन्त्रालय समक्ष आवश्यक औषधिको माग समेत गरेको उनले जानकारी दिए । प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक–दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार