साउन १७, कञ्चनपुर । कन्चनपुरमा अस्पतालबाट फर्किएका तीन कोरोना संक्रमित आज फेरि अस्पताल भर्ना भएका छन् । भीमदत्त नगरपालिका–३ र वडा नम्बर ७ का उनीहरुलाई महाकाली अस्पतालबाट घर पठाइएको थियो।
शुक्रबार अस्पतालबाट घर फर्किएका वडा नं ७ का दुई र ३ का एक जनालाई आधारभूत स्वास्थ्य उप शाखाको सहयोगमा पुनः अस्पताल भर्ना गरिएको हो। घर फर्किएका तीन जनाले अस्पतालका चिकित्सकलाई साउन ४ गते स्वाब संकलन गरिएको मिति बताएपछि उनीहरुलाई घर पठाइएको थियो।
अस्पतालाई स्वाब संकलनको समय ढाँटेर घर लगेको जानकारी बाहिर आएपछि नगरपालिका उनीहरुको खोजीमा जुटेको थियो। ‘साउन ४ गते स्वाब संकलन गरिएको हो भनेर भनेपछि १४ दिन पुगेको ठानेर अस्पतालले छाडेको रहेछ’, भीमदत्त नगरपालिका स्वास्थ्य उपशाखाका स्वास्थ्य अधिकृत भीम सिंह महराले भने, ‘घर फर्किएको जानकारी आएपछि तत्काल खोजी गरी प्रहरी लगाएर अस्पताल ल्याएका हौ।’
स्वास्थ्य उपशाखाका अनुसार उनीहरुको साउन ७ गते मात्रै स्वाब संकलन गरिएको थियो। भीमदत्त नगरपालिकामा उनीहरु सहित २५ जना कोरोना संक्रमित छन्। धुलिखेल अस्पतालमा गरिएको जाँचले शुक्रबार १९ जनामा संक्रमण देखिएको थियो।