बाँकेका १३ जना कैदीमा कोरोना, निषेधाज्ञा जारी


साउन २०, बाँके । बाँकेमा थप १३ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा बाँके कारागारका १२ जना कैदी र इलाका प्रहरी कार्यालय, कोहलपुरमा रहेका एक जना कैदीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ ।

कैदीमा कोरोना देखिएपछि कारागार र इलाका प्रहरी कार्यालय सिल गरिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरीलाई भित्र राखेर बाहिर ड्युटी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए । संक्रमित फेला परेपछि कारागारलाई पनि सिल गरी भेटघाट बन्द गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै कोरोनाको संक्रमण र फैलावट कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारसम्म निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञाका क्रममा बैंककाे एटिएममात्रै सञ्‍चालन गर्न दिने निर्णय लिएको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मंगलबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी शनिबार राति १२ बजेसम्म जारी रहने निषेधाज्ञाका क्रममा अरु सबै कुरा बन्दलाई निरन्तरता दिएको हो।  बैठकले निषेधाज्ञा चार दिने लम्ब्याउने निर्णयसहित एटिएमबाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको उपाध्यायले जानकारी दिएका छन्।

यसअघि शनिबार राति १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज मंगलबार राति १२ बजे सकिँदै थियो। बाँकेमा पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी, कैदी, जनप्रतिनिधि र प्रहरीमा पनि कोरोना देखिएपछि नेपालगन्जमा समुदायमै कोरोना फैलिएको पुष्टि भएको छ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार