साउन २२, काठमाडौं । मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी आजदेखि उक्त व्यवस्था लागू भएको छ ।
आज बिहानैदेखि जोरबिजोर प्रणाली कार्यान्वयनमा प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज जोर नम्बरका मात्रै गाडी चलाउन पाइन्छ ।