कोरोना संक्रमित भएका मन्त्रीले काे-काे सँग भेट गरेका थिए ?


साउन २२, काठमाडौं । बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ। काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री यादव यही आइतवार जनकपुर फर्किएपछि बुधबार साँझ आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। उनले यो कुरा आफैंले पुष्टि गरेका छन्।  काठमाडौंबाट फर्किएपछि यादवले कोरोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए। ‘हिजो मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ। तर, यससँग डराउनु पर्ने आवश्यकता छैन’, उनले भनेका छन्, ‘सर्तकता अपनाएर यसविरुद्ध लड्नु पर्ने आवश्यकता छ।’

कोरोना संक्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन्। आइतवार जनकपुर जानुअघि उनले संघीय सरकारका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए। तर यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ कोरोना संक्रमण भएको हो भन्‍ने खुल्न सकेको छैन।

मन्त्री यादवले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्‍वर न्यौपानेसहितसँग भेटघाट गरेका थिए। त्यहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उनी सामेल भएका थिए। त्यहाँ उपस्थित हुने क्रममा यादवसहित प्रधानमन्त्री र गृहमन्त्रीले सामूहिक फोटो पनि खिचाएका थिए।

उक्त बैठकका क्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षकसँग उनले भेट गरेका थिए।  त्यसैगरि उनले काठमाडौंमै रहँदा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि बैठक गरेका थिए।

त्यस बैठकमा पनि उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु पनि सहभागी रहेको खुलेको छ। सामान्यत: एकजना व्यक्तिलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्ने गरिन्छ। उनको पनि कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उनीसहित उनको मन्त्रालयका अन्य सातजना कर्मचारीलाई पनि बुधबारै साँझ कोरोना पुष्टि भएको थियो।

मास्क छैन 

यादवले गृहमन्त्री, कानुनमन्त्री र प्रधानमन्त्री ओलीलाई गरेका सबै भेटघाटमा उच्च पदस्थहरु कसैले पनि मास्क लगाएका थिएनन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले लापरवाही गरेमा कोरोनाले धेरै संकटमा पार्ने बताउँदै अनिवार्य मास्क लगाउन पटक पटक आग्रह गर्दै आएका छन्।

गृहमन्त्रालयले बुधबार गरेको ६ बुँदे निर्णयमा पनि मास्क अनिवार्य लाउन भनिएको छ। यदि मास्क नलगाइ सार्वजनिक स्थानमा निस्किएमा उनीहरुलाई कारवाही र जरिवाना पनि गृहले भनेको छ।

तर नेपालका उच्च पदस्थहरुले भीडभाडयुक्त बैठकमा पनि मास्क लगाएको देखिँदैन। यादवले गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई भेट्दा पनि सबै उच्च पदस्थ मास्क नलगाई बैठक बसेका थिए।

जनकपुरको अवस्था

पछिल्लो समय कोरोना ‘हटस्पट’ बनेकामध्ये एक हो प्रदेश २ को राजधानी जनकपुर। प्रदेश २ को वीरगन्जसँगै जनकपुरमा पनि तीव्र गतिमा कोरोना फैलिइरहेको छ। त्यहाँ तीन दिनदेखि निषेधाज्ञा जारी छ।

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्। कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको अवस्था छ।

अत्यावश्यक कामबिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ। धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने सामाजिक विकास मन्त्रालय र आन्तरिक मन्त्रालयका कर्मचारीसहित सयौंमा कोरोना पुष्टि भइसकेको छ।

-थाहाखबरबाट

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार