साउन २४, सल्यान । सल्यान कपुरकाेट गाउँपालिकाका जनप्रतिनिधिहरुले आफुहरुले अहिलेसम्म कुनै पनि भ्रष्टाचार नगरेकाे बताएका छन् । केहिदिन अघि स्थानीय नारायण ओलीले एक अन्तर्वार्तामा कपुरकाेट गाउँपालिकाका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएकाे बताएपछि त्यहाँका जनप्रतिनिधिहरुले शुक्रबार रिममा पत्रकार सम्मेलन गरेर आफुहरुले अहिलेसम्म त्यस्ताे कुनैपनि भ्रष्टाचार नगरेकाे खण्डन गरेका हुन् ।
ओलीले अन्तर्वार्तामा वडा कार्यालय त्यहिका जनप्रतिनिधिले आगजनी गरेकाे, शिक्षामा नक्कली प्रमाणपत्र, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, सडक निर्माण, पाेशाक वितरण, राहत वितरणमा अनियमितता भएकाे आराेप लगाएका थिए । त्यसलाइ खण्डन गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढाले त्याे सबै सरासर झुट भएकाे र भ्रष्टाचार भएकाे भए तथ्य ल्याउन आग्रह गरेकी छन् ।
नारायण ओलीले पटक पटक जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक व्यक्तिहरुबाट चन्दा माग्ने गरेको तर नदिएपछि जनप्रतिनिधि, कर्मचारी र सामाजिक व्यक्तिहरुको चरित्र हत्या गर्ने गरी भ्रामक अभिव्यक्ति दिएको उपाध्यक्ष बुढाले बताइन् ।
त्यस्तै जनप्रतिनिधि र कर्मचारीलाई जोडेर गैरकानुनी कार्यहरुमा आधारित असाध्यै गलत, भ्रामक र ब्यक्तिगत चरित्र हत्या गर्ने उद्धेश्यले व्यक्तिको आचरण, नैतिकता एवम् ख्यातीलाई होच्याउने गरी नारायण ओली नाम गरेका व्यक्तिले दिएको अभिब्यक्तिमा सत्यता नभएको जनाउदैँ आफ्नो गम्भिर ध्यानाकर्षण भएको कपुरकाेट गाउँपालिका वडा नम्बर ५ ले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडा नम्वर ५ का वडाअध्यक्ष यम कुमार बस्नेत, नेकपा नेता भद्रसिंह बुढा, दुर्गा पुन, स्वास्थ्यकर्मी देबेन्द्र कुमार सेन लगाएतकाले बोल्दै ती व्यक्तिले लगाएको आरोपमा सत्यता नभएको बताएका छन् । आरोप लगाउने व्यक्तीलाइ केहिदिन प्रहरीले याैन दुर्व्यवहारकाे आरोपमा दाङबाट पक्राउ गरेकाे छ ।