आनन्द बस्नेत / साउन २९, सल्यान । सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भरपर्दो टेलिफोन नहुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत लाइन नहुँदा सोलार सिस्टमबाट टावर संचालन गर्नुपर्ने भएकोले विगतका वर्ष जस्तै यो वर्षको वर्षायामा पनि टेलिफोनमा लोडसेडिङ भैरहेको छ ।
विगतदेखि नै सल्यान पश्चिम क्षेत्रमा सेवा दिने गरि नेपाल टेलिकमका ३ वटा टावर सोलार प्यानलबाट संचालनमा आएपनि घाम नलाग्दा सेवा बन्द हुने गरेको छ । सल्यानको पश्चिम क्षेत्रमा काम गर्नेगरि नेपाल टेलिकमले बनगाडको राउचे डाँडा, माझकाँडा र सुर्खेत सिम्ता गाउँपालिकाको काप्रिचौरमा टावर बनाएको थियो ।
तर यी ३ वटै टावर सोलार प्यानलको भरमा संचालन हुँदा वर्षा याममा समस्या आएको हो । अहिले घाम नलाग्दा बिहान ११ बजेदेखि साझ ६ बजेसम्म मात्रै सेवा सुचारु हुने र त्यसबाहेक अरु समयमा सेवा बन्द हुने गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारलाई लक्षित गरेर देबस्थल डाँडामा केही महिना अघि विद्युत लाइनबाट संचालनमा आउनेगरी नेपाल टेलिकमको टावर निर्माण गरेपनि अहिलेसम्म उक्त टावर संचालनमा नअाउदा सेवाग्राहीलाई थप मार परेको छ । यो टावर संचालनमा आएपछि र अन्य २ ठाउँका टावरमा विद्युत लाईन विस्तार गरेपछि मात्रै यहाँका नागरिकले ढुक्कसँग टेलिफोन सेवा प्राप्त गर्ने देखिन्छ ।