भाद्र १०, रुकुम । रुकुम पश्चिममा प्रहरीले गाेलि हानेर दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबाराे गरेकाे आराेपमा प्रहरीले मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो ।
गोली प्रहारबाट एकजना घाइते भएका छन् भने उनीसँगै रहेका अर्का एकजना पक्राउ परेका छन् । एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गोली लागेर घाइते हुनेमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
केही दिनअघि रुकुम पूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुम पूर्व र रुकुम पश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मंगलबार दुई व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।