• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

बीच बाटोमै श्रीमती गुमाएपछि श्रीमानले गरे यस्ताे पीडादायीक कुरा


भाद्र १३, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका घर भएका मदन (नाम परिवर्तन) की श्रीमतीको घोडाघोडी नगरपालिका-११ स्थित दशरथ बालविकास केन्द्रको आइसोलेसनमा मृत्यु भयो।

सोमबार मृत्यु भएकी श्रीमतीको शव केही आफन्तको सहयोगमा बुधबार बिहान नजिकैको जंगल लगेर गाडे। हिन्दु संस्कारअनुसार श्रीमतीको शव जलाउन पनि नपाएकोमा आफूलाई निकै दुःख लागेको उनले सुनाए।

मिर्गौला खराब भएकी श्रीमतीको उपचार गर्ने पैसा नभएपछि बैंग्लुरूबाट फर्केका उनी घर पुग्न नसकेर घोडाघोडी नगरपालिका- ११ मा श्रीमतीको माइतीमा बसेका थिए। मदन उनकी श्रीमती र छोरीसहित साउन २६ गते भारतबाट आएका थिए।

श्रीमतीको बिमार दिनप्रतिदिन बढ्दै गएपछि बुवाआमा र गाउँलेले माइतीमा राख्न नहुने भन्दै बझाङ जान सुझाएका थिए। बझाङ जाने तयारी गर्दा गर्दै मदन र उनकी छोरीको स्वाव लिइयो। दुवैलाई कोरोना पोजेटिभ देखिएपछि ससुरालीबाट नजिकैको दशरथ बालविकास केन्द्रको आइसोलेसनमा पठाइएको थियो। बिरामी श्रीमतीलाई आफैं स्याहार गर्नुपर्ने भएकाले उनलाई पनि मदनले सँगै आइसोलेसनमा लिएर आएका थिए।

आइसोलेसनमा बस्न थालेको केही दिनमै मदनकी श्रीमतीको सोमबार राती ८ बजे मृत्यु भयो। उनलाई पनि कोरोना लागेको हुन सक्ने भन्दै मृत्युपछि स्वाव जाँच्न पठाइयो। मंगलबार साँझ नेगेटिभ रिपोर्ट आयो।

बाबुछोरीलाई नै पोजेटिभ आएकाले उनलाई पनि कोरोना देखिन्छ भनेर सेनाको शव व्यवस्थापन टोलीलाई खबर गरिएको वडाध्यक्ष दान सिंह जोगीले बताएका थिए। नेगेटिभ आएपछि गाउँलेले लास उठाउने भन्ने भयो। श्रीमतीका आफन्त र गाउँका ८/१० जना युवाहरू आएर शव उठाइदिएका थिए। उनीहरूको पछिपछि मदन पनि गए।

बुधबार सबेरै छोरी सुतेकै छोडेर श्रीमतीको शव उठाए। ‘एकातिर उनीहरु अर्कातिर मैले उठाएर ट्याक्टरमा लास राख्यौं,’ मदनले भने। मदन कोभिड १९ संक्रमित भएकाले भौतिक दुरी कायम राखे। अरू नजिक परेनन् पनि। शव आधा घण्टाजति टाढा जंगलमा लगेर गाडेको उनले बताए।

जंगलमा पुगेर शव भुइँमा राखियो। सँगै गएकाले खाडल खने। मदनले श्रीमतीको हातमा, गलामा भएका चुरा र माला निकाले। उनले नै कपडा निकालिदिएर खाल्डोमा राखे।

‘दाग त दिएँ अनि पुर्ने काम भयो, दाहसंस्कार त गर्न पाइएन,’ उनले भने, ‘चलन अनुसार त जलाउनुपर्ने हो। अहिले अप्ठेरो छ। लास फुलेर शरिरिको पानी बगिरहेको थियो। जलाउन दाउरा पनि नमिल्ने, ल्याउने मान्छे पनि नभएकाले गाड्ने कुरा भयो।’

उनी अहिले आफू संक्रमित र घरबाट टाढा भएकाले क्रिया पनि बसेका छैनन्। ‘बचाउन पाइनँ। मरेपछि संस्कारअनुसार जलाउन नि पाइनँ। किरिया बस्न नि पाएको छैन। योभन्दा दुःख त के हुन्छ र?’ उनले भने, ‘फर्केर नुहाइधुवाइ गरेँ। छोरीलाई पनि नुहाइ दिएँ।’

छोरीलाई अझै यो सबै कुरा थाहा दिएका छैनन्। आमालाई अस्पतालमा लगिएको भन्दै फकाएका छन्। उता बझाङमा उनका बुवा भने कपाल फालेर बसेको उनले बताए।

‘माथिबाट घर आउ भन्छन्,’ उनले भने, ‘यहाँबाट नेगेटिभ नआइ जान मिल्दैन। जुठो १० दिनमा सकिन्छ। त्यसअघि नै घर पुग्न पाए हुन्थ्यो।’ अझै थप चार दिन उनी आइसोलेसन बस्नुपर्ने बताइएको छ।

-सेताेपाटीबाट

प्रकाशित मिति : २०७७ भाद्र १३ गते शनिवार