• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

मिडियमा हल्ला आएकाे भन्दै प्रधानमन्त्री आक्राेश, बामदेव गौतमको सिफारिसबारे प्रस्ताव भएन


भाद्र १९, काठमाडौं । ​शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा सिफारिस गर्नेबारे प्रस्ताव नै आएको छैन् ।

‘उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने राष्ट्रपति समक्ष पठाउने कुरा प्रधानमन्त्रीकै हो । त्यसैले बैठकमा त्यसबारेमा छलफल भएन,’ एक मन्त्रीले भने।

नेकपाको सचिवालय बैठकले बिहीबार राष्ट्रपतिले मनोनित गर्ने एक स्थानमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो ।

यसअघि फागुन १४ गतेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् हेरफेर नहुँने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन्। ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर काम गर्न समेत मन्त्रीहरूलाई निर्देशन दिए।

‘मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आएका छन्। कसरी हल्ला चलेका छन्। मैले कहीँ बोलेको छैन,’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने,’सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनुहोला। मिडियमा आएका हल्ला अडकलका भरमा आएका हुन्।’

उनले बेलाबखत मिडियाले कसलाई मन्त्री बनाउने र कसलाई फाल्ने गरेको समेत बताएका थिए।

‘आज एउटाको नाम हुन्छ भोलि अर्काको नाम हुन्छ। अहिलेसम्म कुनै छलफल चलेर होइन, अडकलका आधारमा भएका हुन्,’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने,’तपाईंहरूले हल्लाका पछि नलागिकन काम गर्नुहोला।’

प्रकाशित मिति : २०७७ भाद्र १९ गते शुक्रवार