• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

पाँच सयमा स्वास्थ्यकर्मी र पत्रकारकाे नक्कली कार्ड !


भाद्र २३, काठमाडाैं । नक्कली कार्ड बनाए बिक्री गर्ने ३ जना सहित चार जनालाइ प्रहरीले काठमाडाैंकाे बागबजारबाट प’क्राउ गरेकाे छ । सोमबार महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस र स्वास्थ्यकर्मीकाे कार्ड बनाउँदै बिक्री गर्ने तीन जना र एक जना सेवाग्राहीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ । यस्तै एक सेवाग्राही समेत पक्राउ परेका छन् ।

ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ महाशाखाले जनाएको छ । प्रहरीले न्यौपानेका कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए ।

एउटा कार्डकाे ५ सय

पक्राउ परेका उनीहरुको साथबाट २१ थान प्रेस लेखिएकाे पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको छ । प्रहरीकाे अनुसन्धान भन्छ, ‘स्वास्थ्यकर्मीको कार्ड समेत उनीहरुले बनाएर बिक्री वितरण गर्ने र एउटा कार्डको ५०० रुपैयाँ लिने गरेको पाइएको छ ।’

होम डेलिभरी गरेमा एक सय रुपैयाँ बढी लिने गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा केही पनि राख्ने नगरेको पाइएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

प्रेस र स्वास्थ्कर्मीको नक्कली कार्ड बनाएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।

अभियुक्तहरुले नजिकका चिनेजानेका साथीहरुलाई नै बढी कार्ड बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नजिकका साथीहरुलाई बनाउँदा–बनाउँदै अन्य व्यक्तिहरुलाई समेत बनाइदिने गरेको पाइएको छ ।

पछिल्लो समय प्रेस लेखेको सवारी साधनलाई प्रहरीले नरोक्ने भएको कारण प्रेस कार्डको दुरुपयोग बढिरहेकाे छ । पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको विभिन्न घटनाहरुले देखाएका छन् ।

अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहन थालेपछि नेपाल पत्रकार महासंघले आफ्नाे ध्यानकर्षण भएकाे जनाएकाे छ ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै केहिदिन अघि महासंघले विज्ञप्ती जारी गर्दै चेकजाँचलाई कडाइ पार्न प्रहरीलाई अग्रह गरेको थियाे ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार