• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

त्यस दिन राजुले पुनर्जन्म पाए, तर याे दिन उनलाई भगवानले पनि बचाएनन्


भाद्र २३, ताप्लेजुङ । भदौ १६ दिउँसो २ बजे । ताप्लेजुङकाे सिरिजंघा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय राजु थेबे नागदेवा लघु जलविद्युत् आयोजनाको विद्युत् गृह (पावर हाउस) छेउमा बसेर वेयरिङको सामग्री मिलाउँदै थिए ।

यत्तिकैमा चट्या’ङको ठूलो आवाज सुनियो । उनी मू’र्च्छा परेर ढले । १५ मिनेटपछि मात्रै बौरिए । आँखा त खोले तर केही सुन्न नसक्ने भए । उनलाई लाग्यो– अब सुन्ने शक्ति गुम्यो ।

करिब एक घण्टामा उनले पहिलेको जस्तैगरी सुन्न थाले । सामान्य अवस्थामा फर्किएपछि उनले थाहा पाए, चट्याङले दाजु रामकुमार थेबेको अलैंची बगानमा काम गर्ने ६ जना घा’इते भएछन् ।

अलैंची टिप्दै गरेका उनीहरूमध्येका एक उमेश थेबे गम्भीर भएपछि सिरिजंघा गाउँपालिकाले सबै खर्च बेहोर्ने गरी उपचारका लागि झापाको बिर्तामोड पठायो । फुङलिङ नगरपालिका–१० फुरुम्बुकी दुर्गा विष्ट भट्टराईको भने चट्या’ङकै कारण मृ त्यु भएको थियो ।

त्यस दिन राजुले पुनर्जन्म पाएको अनुभूति गरे । त्यही खुसीमा साँझ विद्युत् गृह नजिकैको विश्वराज भट्टराईको होटलमा ७ जना साथी भेला भएर भोज गरे । विश्वराजका अनुसार उनले त्यस दिन ६ हजार ३ सय रुपैयाँ बिल तिरेका थिए । भोजमा सहभागी साथीहरूका अनुसार चट्या’ङ लाग्दा पनि बचेकोमा राजु निकै खुसी थिए ।

तर, यो खुसी एक हप्ता पनि टिकेन । आइतबार बेलुकादेखि परेको वर्षासँगै झरेको पहिरोले उनलाई लग्यो । स्थानीय टोल विकास समितिका अध्यक्षसमेत रहेका उनी आइतबार बेलुकीपख बैठक सकेर विश्वराजकोमा गई चाउचाउ बनाउन लगाएर खाएका थिए ।

उनीसँगै ३ जना साथी पनि थिए । ‘घर जान्छु र पावर हाउस झर्छु’ भनेर हिँडेका उनलाई बिहान गाउँलेले मृ’त अवस्थामा फेला पारे ।

गाउँपालिका अध्यक्ष टीका गुरुङका अनुसार पहिरोले विद्युत् गृह सोहोरेर खोलामा पुर्‍याएको छ । घटनामा राजुसँगै स्थानीय ५५ वर्षीय विष्णुदास थेबेको पनि मृ त्यु भएको छ । ‘उनीहरूले त बच्नका लागि भाग्ने मौकै नपाएको जस्तो देखिन्छ,’ गुरुङले भने, ‘बिहान हामीले सिरक, डसना र अरू सामानसहित उनको श’व भेट्यौं ।’

उनीहरूले सुत्ने गरेको खाट भने केहीमाथि नै अल्झिएको अवस्थामा भेटिएको थियो । ‘पावर हाउसको माथि पहरो छ, पहरोको माथि माटो जमेको रहेछ,’ गुरुङले थपे, ‘भारी वर्षा माटोले थाम्न नसकेपछि पहिरो बनेर झरेको जस्तो देखिन्छ ।’

करिब ३० मिटर माथिबाट बगेको पहिरोले विद्युत् गृह १५ मिटर तल पुर्‍याएको छ । उक्त स्थानमा नागदेवा खोला र काबेली नदी मिसिन्छन् ।

राजुसँगै ज्यान गुमाएका विष्णु भने उनको साथी गएका थिए । विद्युत् आयोजना बनेसँगै अपरेटरको काम गर्न थालेका राजु यसै वर्ष टोल विकास समितिको अध्यक्ष भएपछि विष्णुलाई काम सिकाउन थालेका थिए ।

२० किलोवाट क्षमताको यो विद्युत् गृहमा शान्ति विश्वकर्मा र राजु पालो मिलाएर काम गर्थे । पहिले राति मात्रै सञ्चालन हुने विद्युत् गृह भदौ १ देखि दिउँसो पनि चल्न थालेको थियो ।

गाउँपालिकाको अनुरोधमा कार्यालय प्रयोजनका लागि दिउँसो पनि चलाउन थालिएको हो । अध्यक्ष गुरुङले भने, ‘राति १ बजेसम्म त बिजुली बलिरहेकै थियो, त्यसपछि झ्याप्पै गयो । पानी परिरहेकाले बन्द गरे होलान् भन्ने लाग्यो । तर पहिरो गएर सखापै पो पारेको रहेछ ।’ घटनास्थल सदरमुकाम फुङलिङबाट सात घण्टाको सवारी दूरीमा पर्छ ।

जिल्ला मिनिग्रिडका सचिव तथा चिमाल ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष खड्गविक्रम सुवेदी भिरालो जमिनमा बनाइने हुँदा यहाँका हरेकजसो विद्युत् गृह जोखिममा रहेको बताउँछन् । ‘बाढीले पावर हाउस बगाएका थुप्रै घटना छन्,’ उनले भने, ‘कतिपय घटनामा अपरेटरले भागेर ज्यान बचाएका छन् ।’

-कान्तिपुरबाट साभार

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार