• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा किसानलाइ अनुदानमा दिइएका हाते ट्याक्टर बाटै बाट बिक्री


भाद्र २५, सल्यान । कृषि विकास कार्यालय सल्यानले किसानको लागि वितरण गरेको हाते ट्याक्टर लक्षित समूह भन्दा बाहिर विक्री भएको पाईएको छ । आर्थिक वर्ष २०७६।०७७ मा कृषि विकास कार्यालय सल्यानबाट ५० प्रतिशत अनुदानमा बागचौर नगरपालिका वडा नं. ३ को सुन्तला पकेट कार्यक्रमको लागि भनेर हस्तान्तरण गरिएका ५ वटा हाते ट्याक्टरहरु लक्षित समूह भन्दा बाहिर विक्री भएको भेटिएको हो ।

लेकाली अनलाइन, छिटो खबर डटकम र नयाँ दृष्टि डटकमले गरेको अध्ययनका क्रममा ट्याक्टरहरु किनबेच भएको तथ्य फेला परेको छ । कृषि विकास कार्यालय सल्यानबाट ५ वटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (जोन) बाट १ वटा गरी उक्त समूहमा गएका ६ वटा ट्याक्टर लक्षित समुदाय कहाँ नपुगेर सिधै बाटै बाट अन्य व्यक्तीहरुले किनेका हुन ।

सुन्तला पकेट कार्यक्रम भित्रको फुलबारी कृषक समूहका अध्यक्ष मुर्तिलाल खत्रीले यी सबै मिनी ट्याक्टर दुवै कार्यालयबाट किसानका नाममा बुझिलिएको देखिएको छ । कृषि विकास कार्यालय प्रति ट्याटर ७५ हजार मुल्यमा ५० प्रतिशत अनुदानले कुल ५ वटा ट्याक्टरको १ लाख ८७ हजार ५ सय अनुदान भुक्तानी भएको देखिन्छ ।

त्यस्तै मुर्तिलाल खत्रीले नै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (जोन) बाट एउटा ट्याक्टरको ७९ हजार १ सयमा ५० प्रतिशतले ३९ हजार ५ सय ५० रुपैयाँ अनुदान लिएको देखिएको छ । दुइवटा कार्यालयबाट एउटै व्यक्तीले एउटै आर्थिक वर्षमा एउटै प्रकृतिको अनुदान लिएको देखिएको छ ।

यी सबै मिनि ट्याक्टर उनले समुहमा नलिएर सिधै बागचौर नगरपालिका २ का ४ जना र वडा नम्बर ८ का एक जनालाइ विक्री गरेका छन ।

कृषि विकास कार्यालयबाट अनुदानमा किसानलाइ गएका ट्याक्टर २ नम्बर वडाका थल बहादुर डिसी, लिला बहादुर भण्डारी, बल बहादुर केसी, खुमराज केसी र वडा नम्बर ८ का पवित्र कुमार केसीले खरिद गरेको तथ्य देखिन्छ । त्यस्तै, जोनबाट गएको एउटा ट्याक्टर पनि बागचौरकै अर्का एक स्थानीयले खरिद गरेको स्रोतले बताएको छ ।

भिरालोमा काम नगरेर बेचेको हुँ : मुर्तिलाल खत्री 

फुलबारी कृषक समूहका अध्यक्ष मुर्तिलाल खत्रीले अनुदानमा लिइएका मिनी ट्याक्टरहरुले भिरालो जमिनमा काम नगरेकोले बिक्री गरेको बताएका छन् । तर समुहलाइ पठाइएका ट्याक्टर लक्षित वर्गभन्दा बाहिर लिनु नियम विपरित ठहर्छ ।

ट्याक्टर जफत गरेर कार्यालयमा फिर्ता ल्याउँछौं : कृषि कार्यालय

समुह भन्दा बाहिर ट्याक्टर गएकोमा थप अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कृषि विकास कार्यालय सल्यानले जनाएको छ । समुह भन्दा बाहिर बिक्री भएको ट्याक्टरलाइ जफत गरेर समुहमै पठाउने वा कार्यालयले अफुस उपर गर्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताएका छन ।

 

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार