• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

‘बच्चाबच्चीले घर जाऊँ भन्छन्’


संघसंस्थाबाट त्रिपाल र नगरपालिकाले दिएको रासनले जसोतसो दिन काटिरहे पनि महिला र बालबालिकालाई भने समस्या भएको छ।

१३ वर्षीया किशोरी राजु कामीको परिवार डेढ महिनादेखि हुलाकी राजमार्गमा सडकमा पाल हालेर बसेको छ। यसरी त्रिपालमा बस्नुपर्दा आफूलाई महिनावारी भएको समयमा असाध्यै गाह्रो भइरहेको उनी बताउँछिन्।

‘महिनावारी भएका बेला छुट्टै पालमा बस्नुपर्छ। राती खुला पालमा बस्नुपर्दा ड’र लाग्छ,’ उनले भनिन्।  पानी अभाव भएकाले सरसफाइ गर्न पनि नपाएको धेरै महिलाको गुनासो छ।

‘शौचालय छैन। बाढीले घरका नल र शौचालय पुरिएका छन्,’ राजुले भनिन्, ‘महिनावारी हुँदा र अघिपछि पनि सरसफाई गर्नै गाह्रो भएको छ।’ उनले बाढीले पुरिएका नल फेरि चलाउने काम भइरहेको सुनाइन्।

अनिता कामीको वर्ष दिन नपुगेको छोरा पनि घामले पोलेर रोइरहन्छ। घामले त्रिपाल दिनभरी तात्ने हुनाले उनीहरूलाई दिन कटाउनै मुस्किल भएको छ।

‘गर्मीले बाबुलाई धेरै गाह्रो भइरहेको छ। राती पनि राम्रोसँग सुत्न पाएका छैनौं,’ उनले भनिन्।

सेतुदेवी नेपालीका छोराछोरीले पनि घर जाने भनेर सताइरहन्छन्। ‘बच्चाबच्चीले घर जाऊँ भन्छन्,’ उनले भनिन्, ‘महिनौं सडकमा बसे पनि कहिले घरको बास हुन्छ, हामीलाई समेत पत्तो छैन। बच्चालाई के जवाफ दिने?’

सबै चिज बगाएकाले घर घरजस्तो नभएको उनले बताइन्।

भजनी-५ का धनबहादुर भुललाई भने बाढीका कारण सडकको बास हुनु नौलो कुरा होइन। कान्द्रा नदी नजिकै उनको बस्ती रहेकाले वर्षायाममा बाढीले घर बगाएर लैजान्छ। यसपछि सडकमै बास हुने गरेको उनले बताए।

‘चार वर्ष भयो हाम्रो ठाउँमा (बैया) बाढी आउन लागेको। हरेक वर्षायाममा सडकमै बास हुन्छ,’ उनले भने, ‘बैयाँ आउँदै थियो। बसेकै थियौं। यसपालिको जस्तो बैया कहिल्यै आएको थिएन,। हाँडाभाँडा बचाउनै सकिएन।’

बाढी घरभित्रै पसेर सबथोक बगाउन थालेपछि उनलाई आफ्नै ज्यान बचाउन पनि धौधो भयो। उद्धार टोली आएर उनीहरूलाई ट्युबमा राखी हुलाकी सडकमा सारेको उनले बताए।

सरकारले उनीहरूको व्यवस्था गर्ने हो कि होइन, उनीहरूलाई थाहा छैन। पैसा नभएकाले जग्गा-जमिन किनेर अन्तै घर बनाउन पनि सक्दैनन्।

कौसी देवी भण्डारीको परिवारका सदस्य त्यही सडकमै त्रिपाल हालेर बसेका छन्।’चार वर्षदेखि कान्द्रा नदीले यस्तै हालत गर्छ। नदीमा माथिसम्म बलियो तटबन्ध लगाएको भए क्षति कम हुन्थ्यो जस्तो लाग्छ उनलाई।

‘असारतिर तटबन्ध लगाउने काम सुरू हुन्छ, तर पूरा हुँदैन। यसले त झन् जोखिममा पारेको छ,’ उनले भनिन्, ‘बाढीले बगाएपछि घरबार छैन। ढोका ढलेका छन् भने केहीका छाना छैनन्।’

बस्नलाई एकै घर थियो। त्यो पनि नरहेपछि सडकमै बस्नुपरेको उनले सुनाइन्।

परूली कामी साउन १४ गतेदेखि त्यही सडकमै बस्ने मध्येकी एक हुन्। सरकारले उनीहरू जस्ताको कुनै ठाउँमा बस्ती व्यवस्थापन गरिदएको भए यो समस्या हट्ने उनलाई लाग्छ। हिउँदका महिना जसोतसो घर बनाएर बस्ने उनीहरूको बर्खामा यस्तै हालत हुन्छ।

‘ढुक्कसँग बस्न घर भए मजदुरी, ज्यालादारी गरेर ल्याएको पैसाले पेट भर्थ्यौं,’ उनले भनिन्, ‘अहिले त बस्न, खान दुवैको समस्या छ।’

गत साउन १४ देखि लगातार दुई-तीन दिनसम्म परेको वर्षाले कान्द्रा, कांढा, मोहना लगायत नदीमा बाढी आयो। भजनी नगरपालिकाको वडा नम्बर १ बाहेक ९ वटै वडामा बाढीले क्षति गरेको थियो।

नगरपालिकाका उपप्रमुख छाया देवकोटाले बाढीका कारण त्यहाँका २ हजार ४ सय घरपरिवार प्रभावित भएको बताइन्। ६ सयभन्दा बढी घर भत्केपछि प्रभावित परिवार सडक, सामुदायिक भवन र जंगलमै त्रिपाल हालेर बसेका छन्। अहिले कोही घर मर्मत गरेर फर्किसके भने नसक्नेहरू सडक र जगंलमै बसेको उनले जानकारी दिइन्।

उनका अनुसार नगरपालिकाबाट उनीहरूलाई रासनका लागि केही राहत उपलब्ध गराइएको छ। कान्द्रा नदीमा तटबन्धका लागि ‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत काम भइरहेको छ। तर बजेट थोरै भएकाले काम पूरा नभएको उनको भनाइ छ।

‘स्थानीय सरकारसँग तटबन्धका लागि बजेट नै पुग्दैन,’ उनले भनिन्, ‘तटबन्ध माथिसम्म बनाउन सके सबै ठाउँमा क्षति कम हुने थियो।’

वर्षैपिच्छे बाढीबाट प्रभावितहरू वस्ती व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको उपप्रमुख देवकोटाले बताइन्।

उता प्रदेश सरकारले जिल्लामा विपदबाट प्रभावितलाई भनेर हरेक जिल्लाका विपद व्यवस्थापन कोषमा १०/१० लाख रूपैयाँ विनियोजन गरेको बताएको छ। उक्त रकमले कुन जिल्लाका कति विपद प्रभावितलाई के काम गर्‍यो भन्ने विषयमा विवरण नै  नआएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए।

मुख्यमन्त्री त्रिलोचन भट्ट यस वर्ष भजनीका बाढी प्रभावितलाई भेट्न पुगेका बेला वस्ती पुनर्स्थापना गरिने आश्वासन दिएर फर्केका थिए।

हामीले सेताेपाटीमा सविता बुढाले लेखेकाे खबरलाइ साभार गरेका हाैं

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार