• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

स्थानीय श्रोत साधनमा सल्यानका युवाले बनाए नेपालमै पहिलो विद्युतीय घट्ट



इन्द्र बुढाथोकी / भाद्र २७, सल्यान । सल्यानका २९ वर्षका एक युवाले स्थानीय श्रोत साधनको प्रयोग गरेर विद्युतीय घट्ट बनाएका छन । त्रीवेणी गाउँपालिका ३ दाङचुलीका घनश्याम केसीले आफै दिमाग लगाएर विद्युत घट्ट निर्माण गरेका हुन् ।

उनले बनाएका घट्ट अहिले रुकुम र सल्यानमा गरि १६ वटा बिधुतिय घट्ट सन्चालनमा आएका छन । ५ वर्ष देखि सल्लीबजारमा उद्योग सन्चालन गर्दै उनले प्रती घट्टको ७० हजार रुपैया लिने गरेका छन ।

स्थानीय उत्पादन बाट निर्माण हुन घट्ट जातोको रुपमा ढुङ्गा प्रयोग गरिएको हुन्छ । अन्यमा फलाम प्रयोग हुने भए पनि पोठो पिस्नको लागि पानीघट्टमा जस्तै ढुङ्गा प्रयोग गरिएको उनले बताए ।

अधिकांस पहाडी ठाउँमा पानी नपाइने हुनाले आफुले यस्तो घट्टको विकास गरेको केसीको भनाइ छ । अहिले उनले सल्लीबजारमा कालिका इन्जिनियर उद्योग बनाएर सन्चालनमा समेत ल्याएका छन ।

उनको दैनिकी घट्ट बनाउने देखि अन्य मेसिन सम्बन्धि काममा बित्ने गरेको छ । यहि गरेर उनले एक जना युवालाई रोजगारी समेत दिएका छन ।

आफ्नै सिपबाट उनका घरका दाजुभाइलाई रुकुम चौरजाहारी र सल्यान श्रीनगरमा समेत उद्योग सन्चालन गरेका छन् ।

यस्तो खालको विद्युतीय घट्ट नेपालमै पहिलो भएको उनले दाबी गरेका छन् । विद्युतीय घट्ट पहिला अफ्नै घरमा सफल परिक्षण पछि अनेत्र दिन सुरु गरेको उनले बताए ।

उनले विद्युतीय घट्ट सँगै पानी घट्ट, पानी मिलको ट्रवाइन र सानो विद्युतको ट्रवाइन समेत बनाएर पनि बिक्री गर्ने गरेका छन ।

आम्दानी राम्रो छ

केसीले निर्माण गरेको विद्युतीय घट्ट जडान गरेर बनगाड कुपिण्डे नगरपालिका वडा न ८ ज्यामिरे डाङ्गीमोड नजिकै २७ वर्षका राम बहादुर यरिले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

साउन देखि सन्चालनमा आएको यरिको घट्टमा अहिले पिठो पिस्नेको घुइँचो हुने गर्दछ । प्रती घण्टा घट्टले कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथी पिस्ने गरेको उनले बताए ।

विद्युतीय घट्टले पिसे बापत प्रती पाथी कोदो १५ रुपैया, गहुँ २० रुपैया र मकै २५ रुपैया भाडा लिने गरेको यरिले बताएका छन ।

पहिला कसैले बिश्वास नगरेको र अहिले छिमेकी गाउँ घर बाट पिठो पिस्न आउनेको घुइँचो लाग्ने गरेको र मिलको भन्दा केही सस्तोमा समेत पिठो पिस्ने गरेको सन्चालक यरिले बताएका छन् । घरको आगनमा घट्ट बनाएर सन्चालनमा ल्याएका उनले मासिक २० हजार सम्म कमाई हुने गरेको बताए ।

पहिलेको जस्तो दुख हट्यो

विद्युत घट्ट आएपछि पानी घट्टको लागि टाढा टाढा जानू पर्ने र २/३ दिन बाँस बसेर पिसेर आउनुपर्ने पहिलेको बाध्यता अहिले हटेको छ ।

ज्यामिरेकी दुजि बुढाथोकीले भनिन्, “पहिलाको जमानामा धेरै दुख हुने गरेको र अहिले घर नजिकै घट्ट हुदा धेरै सुख भएको छ ।” मिलको भन्दा राम्रो पानि घट्टको जस्तो मीठो पिठो हुने बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार