• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

सिन्धुपाल्चोकमा फेरि भयांकर पहिराे, ठूलो मानविय क्षति भएको आशंका


भाद्र २८, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को ठुलाे पहिराे गएकाे छ ।। जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

पहिरोले १८ घर पुरेको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । न्यौपानेका अनुसार मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

तस्बिरः बजिरसिंह भण्डारी

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार