• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

यहाँका सिंहदरबार छिर्नेहरुमा पनि रातारात धनी हुने र मोटाउने रोग भित्रियो


गणेशमान सिंह

गणेशमान सिंह

यो आलेख विशेषतः मेरा केही अग्रज र शुभचिन्तकहरुको निरन्तर दबाब, सल्लाह र अनुरोधको प्रतिक्रिया स्वरुप तयार भएको हो । सामाजिक सञ्जालमा राखिएका मेरा भनाइहरुमा उहाँ कसैको विरोध देख्नुहुन्थ्यो त कसैको समर्थन । र त तत्कालै फोनबाट सुझाव पस्कदैँ भन्नुहुन्थ्यो– “त्यसको गल्ती त हो तर बाहिरै लेखेर त्यसको बेइज्यत नगरिदिनुहोस् । बिचरा ! ”

हरेक सचेत नागरिक र राजनीतिककर्मीले व्यक्ति भन्दा प्रवृत्ति, समस्या भन्दा समाधान तिर जोड दिनुपर्छ । मेरो यो आलेख पनि कुनै व्यक्ति भन्दा प्रवृत्ति तर्फको संघर्ष हो । समस्या भन्दा समाधान खोज्ने कोशिस हो ।

हाम्रो समाज निम्नपुजीवादी सोच, शैली र संस्कारबाट ग्रसित छ । सत्तामा बसेका, पद, पावर र पैसाको पहुँचमा रहने मान्छेहरुलाई प्रश्न गरेको, विरोध जनाएको र विकल्प सहित असहमती राखेको धेरैलाई मन पदैन । सुहाएको देखिदैन । अझ भनौँ त्यसो गरे खतरा आइहाल्छ कि भन्ने भय हुन्छ ।

हामी भुई मान्छेहरुकै भोट र रगत पसिनाबाट सत्ताको सिढी चढेका महामानवहरुलाई किन हामी सहानुभूति राख्छौँ  ? किन हामी उसको गल्ती, कमजोरी र खराब आदतमा चुपचाप बसिदिन्छौँ त ? किन कि हामी मनबाट राम्रो होस, परिवर्तन होस र फूलैफूलको, सुखैसुखको समाजको, संसारको कल्पना त गर्छौँ तर त्यसको लागि आवश्यक दुख, त्याग, र जोखिम उठान सक्दैनौँ ।

त्यसैले त नेपाल जस्तो देशमा जति परिवर्तनका आँधीबेहरी चलेपनि सिमित अवधि र सिमित व्यक्तिका लागि मात्र फलिफाप हुन्छन् ।

हामी सबैले एकपटक बहस गर्नुपर्ने भएको छ । हाम्रा स्थानीय सरकारहरु कस्ता भए ? सत्ता प्रमुखहरुले के गरे ? गरिरहेका छन् ? र के गर्नुपथ्र्यो ? पक्कैपनि यि र यस्ता प्रश्न र खोतलखातलबाट कार्यकालको समाप्ती तिर गइरहेका सत्ताप्रमुखहरु चिढिन सक्लान् । सत्ताको सुखभोग गर्नुभएका उहाँहरुको कोमल चित्त जति दुखेपनि परिवर्तन चाहने जोकोहीले पनि प्रश्न गर्न छोड्नु हुँदैन ।

हामीले हाम्रा तमाम नाफाघाटाको हिसाब गर्नुपूर्व गंभीर भएर सोच्नुपर्छ– सत्तामा बसेका शासकहरुसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने प्रयासमा, संघर्षमा र हक अधिकारको आन्दोलनमा हजारौँ अग्रजहरुले शहिदको कोटा पूरा गर्नुभएको छ । असंख्य नेपालीजनले धेरै त्याग र बलिदान गर्नुभएको छ ।

जनताको धेरै भन्दा धेरै लगानी र क्षतिबाट पाएका यि यस्तै थुप्रै परिवर्तनका उपहार मध्येको स्थानीय सरकारलाई हामीले कसरी चलायौँ  ? जनतामाझ व्यवहारबाट कसरी बुझायौँ ? त्यो अब भन्नैपर्ने भएको छ ।

जनतालाई सत्ता, सरकार किन चाहिन्छ ? सरकार बनाउनमा जनताले इच्छा, चासो, रुची किन राख्छ ? बम, गोला, बारुद र सयौँ धम्की र सम्झाईलाई बेवास्ता गर्दै हरेक चुनावमा जनता किन आफ्नो जनप्रतिनिधि छान्न अग्रसर हुन्छ ? सहभागी हुन्छ ? यसपटक पनि स्थानीय सरकार चुन्न जनता किन त्यति साह्रो उत्साहित भएको ? सत्ताको जुठोपिरो खाएर ढाडिएकाहरुले यी प्रश्नमा गंभीर भएर सोच्नैपर्छ ।

सात दशक लामो संघर्षबाट प्राप्त संविधानसभाले बनाएको संविधानमा जनताको घरदैलो अगाडि पुग्ने र भेटिने गरी स्थानीय सरकार बनाउने व्यवस्था किन र कसरी गरियो ? यी यर्थाथबाट जनताको घरदैलोमा सरकार चलाएर बस्ने जनप्रतिनिधि भाग्ने र तर्किने कुरा त छँदैछैन ।

कुनै पनि गर्भरनेन्स भनेको कुनैपनि व्यवस्थाको व्यावहारिक रुप हो । सरकारमा बसेकाले जनतामाझ गर्ने व्यवहारले नै त्यो व्यवस्था र सरकार कस्को र कस्तो हो भन्ने मर्म बुझाउँछ । तसर्थ अर्को स्थानीय सरकार गठन गर्नेुपर्ने बाँकी एकवर्षे समयावधि भित्रै जनतामाझ हरेक सचेत राजनीतिकर्मीले, बुद्धिजिवी, व्यवसायी, शिक्षक कर्मचारी र अधिकारकर्मीले आ–आफ्ना स्थानीय सरकारको र प्रमुखहरुको बारेमा गंभीर छलफल, बहस, समिक्षा, सवालजवाफ र जनतामाझ अन्तरसंवाद चलाउनुपर्ने भएको छ ।

जसरी २०६२/०६३ को परिवर्तनपछि त्यस परिवर्तनलाई उत्साहको रुपमा ग्रहण गर्न गाउँगाउँमा युवाक्लबहरुको गठन र गतिविधि बढाइएको थियो । ठिक त्यसैगरी अब स्थानीय सरकारलाई साँचो जनताको घरदैलोको सरकारमा बदल्न र जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउन युवाहरुलाई परिचालन गर्न, सकृय हुन जरुरी भइसकेको छ ।

स्थानीय सरकारको अवधारणा :

एकपटक इतिहास तिर फर्कौं । आजसम्मको नेपालको सिंगो राजनैतिक प्रक्रिया निकै गन्जागोलमा चल्यो । राजनैतिक इतिहासका पानाहरु सरल र सपाट छैनन् । देशका राजनैतिक इतिहासका बाटाहरु नागबेली छन् । घुम्दैफिर्दै रुम्जाटार भनेजस्ता ।

नेपाल देश बनेदेखिको अढाई सय वर्ष यताको राजनैतिक घटनाक्रमलाई हेरियो भने मात्र न जितेका शासकले शासन गर्न पाएका छन् न शासन गर्न सकेकाले केही गर्न नै । न व्यवस्थाहरु टिकेका छन् न टिकेको व्यवस्थाहरुले जनताको जिवन बदलेका छन् । यो देशमा न राजाहरुले आफ्नो स्वविवेकले राज गरे न राणाहरुले राम्रो शासन चलाए । न प्रजातन्त्रवादीहरुले प्रजातन्त्रलाई अँगाले न गणतन्त्रवादीहरुले गणतन्त्रमा आफूलाई सम्हाले ।

यो देशका साधारण जनताले अनुभूत गर्नेगरी न प्रजातन्त्र आयो न गणतन्त्र । पटक पटक कट्मिरो परिवर्तन भोग्न विवश हामी नेपाली जनता अझै ठूूलो राजनैतिक संक्रमणमा छौँ भन्दा अतिशयोक्ति नहोला ।

देशको खरबाैं रकम खराब पारी बनेको एकथान संविधानमा जेहोस् जनतालाई केन्द्रमा राखी “तिम्रो ठाउँमा, तिम्रो मर्जीले, तिम्रो सरकार चलाउ” भनेर शक्तिशाली स्थानीय सरकारको व्यवस्था गरियो । चुनावताका जनतालाई संघीय गणतन्त्रको उपहार– घरघरमा सिंहदरबार भन्ने नारा चर्चित बनाइयो र जनतालाई खुशी पार्ने प्रयत्न गरियो ।

हिजोको सिंहदरबार जनता देखि टाढा थियो । जनताको आफ्नै रगत पसिनाबाट, कमाइबाट ठडिएको र चलेको त्यो भिमकाय सिंहदरबार जनताले हेर्न नसक्ने, छुन नसक्ने, भेट्न र देख्न नसक्ने र जनताले यो मेरो लागि बनेको सिंहदरबार हो भन्ने महशुसै नहुने अवस्थमा पुग्यो ।

त्यो सिंहदरबारमा बसेर राजकाज चलाउनेहरुले जनताको पिर, मर्का र अभाव बुझेनन् । उनीहरुको अगाडि जनता सधैँ निरीह र असहाय हुने परिस्थति देखियो । सिंहदरबारमा छिर्नेहरु रातारात धनी हुने, मोटाउने र जनता भन्दा शक्तिशाली हुने रोग भित्रियो ।

जनताको रगत पसिनाबाट सिंहदरबार ठडिने, जनताको रगतप सिनाबाट सिंहदरबार छिर्नेले मोजमस्ती र सुखसयल उपभोग गर्ने, जनताको रगत पसिनाबाट चल्ने राज्यका हरेक अंग र निकायहरुले सोझासाझा जनतालाई नै बेलगाम शोषण गर्ने…हो । यिनै थुप्रै कारणहरुबाट जनताले त्यो सिंहदरबारसँग विद्रोह गर्याे ।

सिंहदरबारको परिवर्तनका खातिर आफ्नो जीउ ज्यान बलिवेदीमा चढायो । छातीमा गोली दागेर हाँसीहाँसी मर्न तयार भयो । यी सबै सबै जनताका सवाल, असहमती र विरोधलाई हल गर्न गाउँगाउँमा, जनताको घरघरमा सिंहदरबारको परिकल्पना सहित स्थानीय सरकारको व्यवस्था गरिएको हो ।

जनताको रगत पसिनाबाट चल्ने स्थानीय सरकार र प्रमुखहरुलाई जनताले आफ्नो आँखा अगाडि पारदर्शी भएर आफ्नो इच्छा, स्विकृति र आदेशमा चलेको हेर्न चाहेका छन् । तब न घरघरमा सिंहदरबार !

जनप्रतिनिधिहरुको सवालमा :

अब स्थानीय सरकारले चौथो वर्षमा प्रवेश गर्दैछ । यो अवधिमा स्थानीय सरकारका मान्छेहरुले के के गरे । नागरिकले आफ्नै आँखा अगाडि झल्झली देखिरहेका छन् । बुझिरहेका छन् ।

नागरिकले हिजो चप्पल पड्काउँदै घरघरमा गई दईमई मागेर नुनको ढिकासँग बासी रोटी कपाकप खाने आफ्नै गाउँको तल्लाघरे, माथील्लो गाउँको, डाँडाघरेको, खोलापारीको जेठो, माइलो, कान्छा कान्छीहरुले हेर्दाहेर्दै सरकार चलाएको सत्तामा बसेको देख्न पाए र सरकार, सत्ता पाइसकेपछि मान्छे कसरी बदलिँदा रहेछन्, उनीहरुले कस्तो सोच्दा रहेछन् र के के सम्म गर्दा रहेछन् त्यो भोग्न पाए ।

म पनि गाउँघरमा बस्छु, जान्छु स्थानीय सरकारमा बसेका जनप्रतिनिधिका अनेक हर्कतका बारेमा गाउँका दिदिबहिनी, दाजुभाईबाट अनेक चिन्ता, चासो र गुनासो सुन्छु । उदेक लागेर आउँछ ।

साँच्चै जनताको सहभागीता र बलमा गरिएका राजनैतिक आन्दोलनले, युद्धले, क्रान्तिले, परिवर्तनले हाम्रो जमिनमा स्थानीय सरकारको नाममा कस्तो बिउ छरेको थियो र के उम्रियो कसरी हुर्कियो ? स्थानीय जनतालाई स्थानीय सरकार धान हो कि सामो ? छुट्याउनै गाह्राे भएको छ ।

जनता माझ पाक्चे फलको प्रचार गरियो तर हातमा पारियो आक्चे फल दिने बिरुवा । हिजो जनता जसको “आज मर्छ कि भोली मर्छ कि” भन्ने चिन्ताले, सुर्ताले सुख सँग बस्दैन्थे । आज उही पात्र सरकारमा पुग्दा “आज अप्ठ्यारो पार्छ कि भोली अप्ठ्यारो पार्छ” भन्ने भयमा बाँचेका छन् । जनताले सोचेका थिए हरियो घाँस तर त्यहाँ उम्रियो बनमारा झार ।

हिजो जनताको अगाडि हात जोडीजोडी सरकारको प्रमुख भएको त्यो झिल्ली सरकारमा गएको वर्ष दिन नबित्दै आसपासका गाउँले दाजुभाईलाई नै लजाउने गरी पक्की घर ठड्याउँछ र भन्छ सरकारमा गए पछि घरै पनि नहाल्ने ? आधा करोडको गाडि पनि नचढ्ने ? महिनाको टिएडिए मार्फत लाखौँ भत्ता पनि नखाने ?

जनता बिरामी हुन्छ त्यो झिल्लीले भन्छ– मेरो सरकारको एम्बुलेन्सलाई भाड तिर र अस्पताल जाउँ । जनताले हाम्रो लागि अहिलेसम्म कति रकम आयो कहाँ कहाँ खर्च भयो भन भनी अनुरोध गर्छ, त्यो सरकारमा बसेको बाठो कागले उही हिजोको सिंहदरबारको भाषा बोल्छ जो जनताले फिटिक्कै बुझ्दैनन् ।

सरकार हुँ भन्छ –स्कुलहरु उसैले कब्जा गरी बस्छ । बाटो, सार्वजनीक स्थान त्यसैका हातेभारेले कब्जा गरि बस्छन् । दुनियाँको घर बिगार्नमा त्यही सरकारको झिल्लीले शुरु गर्छ र आफ्ना हातेभारेलाई पनि आफू जस्तै बनाउँछ ।

स्थानीय जनताको अगाडि जाँदा पनि गाडी बिना जाँदैन । पुलिस बिना हिड्दैन । कुर्सी बिना बस्दैन । जनता भन्दा कार्यकर्तालाई कार्यकर्ता भन्दा कर्मचारीलाई विश्वास गर्छ र उनीहरुकै हातबाट कमिशन बुझ्छ । हरहमेशा त्यो नक्कले सिंहदरबारमा बस्नेहरुको नक्कल गरी बस्छ ।

आफ्नै गाउँघरका स्थानीय जनताको मतबाट, परिश्रमबाट स्थानीय सरकारमा राज गर्छ तर अंह ति आफ्ना स्थानीय व्यवसायीहरुको चिन्ता चासो राख्दैन । टाढाका, शहरका व्यवसायीहरुसँग हिमचिम बढाउँछ, नातासम्बन्ध जोड्छ र आफ्नो पालिकामा करोडौँका सामान भित्र्याउँछ कमिशनको लोभमा ।

स्थानीय सरकारमा राज गरेको छ तर उसले आफ्नो पालिका भरिका शिक्षामा, स्वाथ्यमा, युवायुवतीहरुको रोजगारीमा, जनताको आम्दानीमा, सामाजिक चेतनामा, रितिरिवाज परम्परामा, आर्थिक र नैतिक अवस्थामा, संस्कार र सोचमा, सार्वजनिक स्थल र वनजंगलमा, विकासका पूर्वाधारमा जनतासँग मिलेर के के गर्न सकिन्छ ? अंह मरे पालिकाका जनतासँग छलफल गर्दैन । बहसमा भाग लिने इच्छा राख्दैन, सरकारका धारणा सार्वजनिक गर्दैन । यी विषयमा जनतालाई सरल भाषामा बुझाउने कोशिस गर्दैन ।

बरु कति सम्म निकृष्ट भएर गतिविधि गरिरहेका छन् भने अर्का पटक पनि कसरी यै पदमा बस्ने, टिक्ने भन्ने जोरघटाउमा वैध-अवैध धन्दा चलाइरहेका छन् । स्थानीय सरकारमा पुगेदेखि आफ्नो आर्थिक स्थितिमा के कति कायापलट भो त्यसमा जनतालाई अंशियार र सहभागी नै गराउदैनन् । बरु यसमा प्रश्न गर्ने, जिज्ञासा राख्ने जो कोहीलाई पनि दुश्मनको कित्तामा हाल्ने र जसरी पनि ठिक पार्ने भन्ने घमण्डमा पुग्छ ।

एउटा योजनाको अध्यक्षको लागि, स्कुलको अध्यक्षको लागि, एउटा सुविधाको लागि जनतासँग, अभिभावकसँग हातजोड्दै, कान समाउँदै, क्षमा माग्दै, प्रलोभनमा पार्दै र धम्की दिँदै भिख माग्ने त्यो नकचरोलाई के थाछैन भने त्यो सिंगो पालिका बनाउने, बदल्ने र निमार्ण गर्ने जिम्मा मेरो हो र यसको लागि मैले सबैलाई अवसर दिनुपर्छ । खाली उ देशविदेशका, उडन्ते र जोकरका जस्ता हाउडे गफबाट आफ्नो वरिपरिका लाई भुलाउन खोज्छ ।

स्थानीय सरकारमा छ, घर नजिकै छ तर हजारौँ, लाखौँ भाडा तिरेर घर लिन्छ र लाखौँका फर्निचर खरिद गरि भान्से राखेर लाजै नमानी बस्छ । यो भन्दा अनैतिक, भ्रष्ट र बेइमान के हुन सक्छ ? उही माथीको एउटा सिंहदरबार जस्तै त्यहाँ बस्ने मान्छे जस्तै यी सयौँ सिंहदरबार किन चाहियो ? आमजनताले आजभोली चिन्ता, चासो र प्रश्नहरु गर्न थाली सके । यो अवस्था आउनु भनेको देश, समाज र जनताको लागि दूर्भाग्य हो ।

अन्तमा :

सत्ता र सरकार भनेका समाज र जनताका अभिभावक हुन । देश भन्नु माटोको थुप्रो होइन । देश भन्नुु आफ्नो गाउँठाउँ भन्नु त जनताको जीवन हो । पहिचान हो । सत्ता र सरकार जनतालाई बाटो देखाउन भनी बनाइएका संरचना हुन । मान्छे समुहमा बस्न रुचाउने प्राणी हो । समूह समूह मिलेर समाज बन्ने हो । समाज समाज मिलेर सत्ता र सरकार बन्ने हो ।

समयकाल बदलिँदो छ । समाजका पुराना मूल्य मान्यताहरु भत्किँदा अवस्थामा छन् । प्रविधीको दुनियाँले मान्छेलाई अलगअलग- बेग्लाबेग्लै- एक्लाएक्लै बनाउँदै लगेको छ । मान्छेका स्वभाव, आनीबानी बदलिएका छन् । आवश्यकता र रहरहरु उचालिएका छन् ।

सत्तामा बसेर सरकार चलाउनु निश्चय पनि सजिलो काम होइन । न त जो कसैले रहर र इच्छा देखाएर बनिने हो । यो एउटा लामो, कठिन, जोखिपूर्ण संघर्षको शिलशिला चाहिने क्षेत्र हो । सरकारमा बस्नु भनेको समाज बदल्ने रोलमोडेल बन्नु हो जो कठिन र गाह्राे त हुँदै हो । सरकार र सत्ताको डाडुपन्यु चलाई बस्नेले गर्ने हरेक काम, व्यवहार र निर्णयले समाजलाई दुरगामी असर पार्छ ।

सरकारमा बस्ने एउटा व्यक्ति त हो तर सिंगो व्यवस्थालाई जनतामाझ देखाउने एउटा रुप पनि हो । सत्ता र सरकारमा बसेर विद्यमान समाजलाई अग्रगमन तर्फ बदल्ने कोशिस गर्ने हो । पुरानाले गरेजस्तो गर्न कत्तिपनि छुट छैन । यो परिवर्तन हजारौँको रगत पसिनाबाट भएको हो भन्ने सत्य सत्तामा बस्नेले हरदम सम्झीनुपर्छ । वर्तमानमा सत्ता र सरकारको बागडोर सम्हाल्ने तर दोष जति अरुलाई थोपारेर लुट्ने प्रवृत्ति पटक्कै हुनुहुँदैन ।

सत्ता र सरकार त आम नागरिकको आशा र भरोसाको केन्द्र बन्ने हो । सत्ता र सरकारमा बस्नेले आफ्नो हित भन्दा जनताको हित, आफ्नो सजिलो भन्दा जनताको सजिलो, आफ्नो भविष्यको चिन्ता भन्दा जनताको भविष्यको पो चिन्ता लिनसक्नुपर्छ ।

सत्ता र सरकारमा बसेका प्रमुखले हरदिन हरक्षण सोच्नुपर्छ– मैले सोचेजस्तै मैले गरेजस्तै मैले पाएको सुख सुविधाजस्तै वा म भए जस्तै सपालिका भरका मान्छेले सोचे, पाए, भए कस्तो समाज बन्छ त ?

सत्ताको शक्तिले ढलमटोल भएका छोटे सरकारहरुले समयमै बुझे भलो नत्र त हरेक उन्मादीहरुको अवसान दर्दनाक भएको जनताको इतिहासलाई कसले पो बिर्सेको छ र ? साँचो परिवर्तनको लागि हरेकले घरघरबाट, गाउँगाउँबाट, बस्तीबस्तीबाट आगोको मुस्लो बोक्ने नै छन् । सत्ता र सरकारमा पुगेर खरानी बन्ने कि जनताको मनमनमा बस्ने निशानी हुने रोजाई सरकारको !

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार