कविता
कमरेड, मेरै घरको झ्यालमा सिरानी हुन्थ्यो
चिहाउनु हुन्थ्यो बार्दलीबाट
एक जोर आँखा बिच्छाएर
झुन्डिएका हुन्थे घुटिकालमा
कम्ब्याट ड्रेस र बन्दुकहरु
बाड्नु हुन्थ्यो साम्यवादका सपनाहरु
कामरेड
सपनाहरुकाे खातै खात बाेकेर
कता हराउनु भयाे ।
पुरानाे घरकाे साँघुराे दलान नाघेर
ऊ त्याे क्षितिज देखाउदै भन्नुहुन्थ्यो
हाम्राे पुग्ने लक्ष्य त्यहाँ सम्म हाे भनेर
कामरेड, अहिले त्याे क्षितिज
नाघेर कहाँ पुग्नु भाे ?
हातमा ठेला आउनजेल दिनै भरी
काम गरेकी मेरि आमा सपना देख्थिन
क्रान्तिको
अनि साँचेर ल्याउथिन एक मुठी सातु
खान नसकेर हाेईन कामरेड , तपाईकाे लागि
किनभने उनले बुझेकी थिईन क्रान्ति पछि
सुखका दिन आउँछ भन्ने
तर खानकै अभावमा मेरि आमा मरिन
ग्यास्टिक बाट अलसर भएर
कामरेड मेरी आमाकाे बुझाई गलत कसरी भयाे ।
साहुकाे कामकाे ज्यालाले भोक नटरे पछि
रातैभरी ननिदाई डाेकाे बुन्ने मेरा बा
खाेई कसरी एकासी फेरिए
अनि हानिए कालापार
अक्सर मेरा बा भन्ने गर्थे देश फेरिनु पर्छ
व्यबस्था फेरिए पछि गरिवका दिन आउँछन्
कालापारमा कमाएकाे पसिनाकाे मुल्य
कामरेड कहाँ बेच्याै ?
मलाई जान्नु छ ।
सहि गलत केहि थाहा नभएकाे मेराे भाई
अक्सर ढाक्रे आमकाे रुखबाट दुशमन
चिहाउने दुस्साहस गर्थ्याे
त्यहि दुस्साहसमा सहिद मेराे भाईकाे
बलिदान
कामरेड कहाँ बेच्याै
मलाई जान्नु छ ।
एक्कासी जानकीबाट ज्वाला भएकी मेरी
बहिनी
बेपत्ता भई
म हर तिहारमा उसकै आगमन कुरेर बस्छु
कामरेड
मेरी बहिनी जिउदाे छे या मृत
मलाई जान्नु छ ।
हिसाव लिनु छ दाजु र दिदीकाे पनि
बुझ्नु छ श्यामे र गीताकाे हालखबर
तलास गर्नुछ बेपत्ता सहयात्रीलाई
कामरेड,
मलाई बासी बिचार हाेईन
क्रान्तिकाे नयाँ आयाम भन्न उहि ठाउँ आउनु
जहा बन्दुक भिरेर सपनाकाे खातैखात बनाएर
पस्नु भएकाे थियाे सहर ।
कामरेड
पाउनु पर्छ मैले उत्तर
दिनु पर्छ तपाईं ले जवाफ
म तपाईकाे खोजीमा छु ।