• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

उनलाई सामूहिक बला’त्कार गरेर तीन तला माथिबाट खसालिदिएका रहेछन्


हरिशचन्द्र घिमिरे

हरिशचन्द्र घिमिरे

नेपाल सरकारले विभिन्न ९ वटा देशसँग श्रम सम्झौता गरेको छ । तीमध्ये जोर्डनसँग भएको सम्झौतामा घरेलु कामदार पठाउने कुरा स्पष्ट उल्लेख छ । इजरायलमा भने केयर गिभरको रुपमा अहिले काम गरिराखेकाहरुलाई सम्झौता गर्नुभन्दा अगाडि नै पठाइएको थियो ।

अहिले संस्थागत रुपमा ५ सय जना केयर गिभर लाने भनेर सम्झौताको एउटा प्रोटोकल छलफलको क्रममा छ । हामीले दुई चरणमा वार्ता पनि गरेका छौं ।

खाडी मुलुककै उदाहरण दिउँ, साउदी अरब भनेको त्यो रिजनको आर्थिक सामाजिक र धार्मिक, खासगरी मुस्लिमहरुको शक्ति केन्द्रको रुपमा रहेको छ । त्यहाँ परिस्थिति असाध्यै जटिल छ, खासगरी नेपाली महिला कामदारहरुको लागि ।

साउदी अरबमा नखोल्ने (घरेलु कामदार पठाउन) र अरु देशमा खोल्ने भयो भने उनीहरु (साउदी सरकार) ले हामीलाई कुटनीतिक दवाव दिन्छन् । यो विषय जटिल छ । कुटनीतिमा अप्ठ्यारो हुने विषयहरु हुन् यी ।

साउदी अरबले २०१५/०१६ तिर हामीसँग घरेलु कामदारको सम्झौता गरौं भनेको थियो । हामीले घरेलु कामदारको र अन्य पनि गरौं भन्यौं । तर उसले घरेलु कामदारको मात्रै गरौं भन्यो ।

त्यहाँको समाज हाम्रोजस्तो खुल्ला छैन । महिलाहरुले बुर्का लगाएर हिँड्नुपर्ने हुन्छ । घरभन्दा अग्लो कम्पाउड वाल लगाउँछन्, एउटा घरको पुरुषले अर्को घरको महिलालाई नदेखोस् भनेर ।

न्युनतम तलब कति हुने ? कामदार समस्यामा पर्‍यो भने उपचार के ? दूतावासको पहुँच कतिसम्म हुने ? दूतावासका प्रतिनिधिलाई घरेलु कामदारले सोझै फोन गर्न सक्ने कि नसक्ने ? जस्ता विषयमा हाम्रो चासो थियो । तर, उनीहरुले त्यति रुचि देखाएनन् । त्यसपछि सम्झौता अगाडि बढाउन सकिएन ।

म आफैं साउदी अरबमा काम गरेर आएको । त्यो सम्झौताको कुरा हुँदा म भर्खरै नेपाल फर्किएको थिएँ । उनीहरुले हामीजस्तै अन्य देशसँग महिला कामदारको विषयमा प्रस्ताव गरे । बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान लगायतका मुलुकले औपचारिक सम्झौता गर्न रुचाएनन् । कारण– बन्द समाज र त्यहाँ घरेलु कामदारलाई गरिने व्यवहार ।

एउटा उदाहरण दिन्छु– म साउदी अरबमै काम गर्ने सिलसिलामा एक जना नवलपरासीको महिला हुनुहुन्थ्यो ।

म बस्ने क्वार्टरको साइडमा अरबी राष्ट्र सिरियाको एक व्यक्ति बस्थ्यो । ऊ एउटा कम्पनीको म्यानेजर थियो । मेरो र उसको कम्पाउन्ड वल्लो पल्लो थियो । बिहान ४ बजे उसले मेरो गेटको घन्टी बजायो ।

उसले मलाई भन्यो कि एकजना महिला दुई घन्टादेखि सडकमा रुँदै लडिरहेकी छन् । मलाई लाग्छ कि तिम्रो देशको नागरिक हुनुपर्छ । एकपटक उनलाई हेर्नुहोला ।

म तुरुन्तै घरबाट निस्किएँ । ती महिला उसले भनेकोजस्तै अवस्थामा थिइन् । लुगा च्यातिएको, विछिप्त अवस्थामा । नेपाली भाषा पनि बोल्न नसक्ने, देहाती महिला थिइन् । उनलाई सामूहिक बला त्कार गरेर तीन तला माथिबाट खसालिदिएका रहेछन् । सबै लुगा च्यातिएका थिए ।

मैले आफ्नो स्टाफलाई बोलाएँ । मेरो श्रीमतीको लुगा लगाउन दिएँ । उनको हातखुट्टा भाँचिएको थियो । लगभग चार महिनासम्म स्वास्थ्योउपचार गरियो । कहाँ धाइएन त्यसबेला । त्यहाँको मानव अधिकार आयोग, पुलिस, प्रशासन सबैतिर पुगियो । तर, कतै पनि केही सुनुवाइ भएन ।

उनको भनाइ अनुसार नेपालबाट परिवारभित्रैको व्यक्तिले साउदी पठाएको रहेछ । तिमीलाई पठाउने मान्छे को हो, नेपालमा कारवाही हुन्छ भन्दा उनी नाम नभन्ने । पछि ठीक भएपछि टिकट काटेर घर पठाउने भइयो । घर जाने बेलामा त्यही व्यक्तिलाई फोन गरेर म आउँदै छु भनिन् ।

भनेपछि परिवारभित्रकै मान्छेबाट हाम्रा मान्छे बेचिएका छन् । एउटा प्रतिनिधि घटना हो यो । यस्ता धेरै घटना छन् । धेरै महिलाहरु उद्धार गरेर पठाइयो साउदीबाट । ५/६ हजार महिला पठाइसकेपछि हामीले रेकर्ड राखेका थियौं, कोमार्फत गएको हो भनेर ।

हामीले ४३ जना त्यस्ता एजेण्टहरुको सुची बनाएर काठमाडाैंमा पठायौं । ती एजेण्टले यता दूतावासमा हाम्रो अफिसर, जसले चिठीमा सही गरेर पठाउनुभएको थियो, उहाँलाई फोन गरेर धम्क्याउन थाले । अफिसर नै डराएर हिँड्नुपर्ने अवस्था भयो ।

यो खालको अवस्था छ । यस्तो परिस्थितिमा हामीलाई साउदीमा घरेलु कामदार पठाउने सम्झौता गर्न सजिलो थिएन ।

हामीले नमानेपछि उनीहरुले अफ्रिकी देशहरुसँग सम्झौता गरे । तर अफ्रिकी महिला कामदारसँग साउदी अरबका बच्चाहरु मान्दै मानेनन् । एकदम रुने, कराउने, चिच्याउने गर्न थाले । मनोवैज्ञानिक असर नै परेको जस्तो भयो । गोरो छाला भएका महिलाहरुले स्याहारेका बच्चाहरु कालो अनुहारका महिला देख्दा नै डराउँथे । त्यसपछि उनीहरुले अफ्रिकाबाट ल्याउन बन्द गरे ।

अफ्रिका बन्द गरेपछि उत्तरपूर्व र दक्षिणपूर्व एसियाका देशहरुसँग उनीहरुले पहल गरे । भियतनामसँग सम्झौता गरेर भियतनामी कामदार ल्याउन थालियो । सुरुमा ३/४ सय कामदार लगिएको थियो ।

घरमा कामदार राख्ने भनेको सम्भ्रान्त वर्गले हो । उनीहरुले अलि हेपाहा व्यवहार गर्छन् कामदारलाई । तर, भियतनामी महिलाहरु कम्फु, कराँते सिकेका । उनीहरुले मालिकलाई नै घुमाएर हिर्काइदिने । त्यसपछि यो पनि हुँदैन भनेर बन्द गरियो ।

अनि हामीजस्ता देशहरुबाट कामदार ल्याउन उनीहरुलाई चर्को दबाब भयो । त्यो बेलामा म आफ्नो जिम्मेवारी सकेर फर्किएको थिएँ । लौ गरिदिन पर्यो भनेर आए । तत्कालिन श्रम मन्त्रीज्यूलाई यहाँ साउदी राजदूतले भेट्नुभयो । त्यहाँ काम गरेर आएको हुनाले मलाई चासो भयो ।

मिटिङमा सहभागी भएँ । साउदी राजदूतले यतिसम्म भने, ‘तिमीहरुले घरेलु कामदार दिन्छौ भनेर पो हामीले एम्बेसी खोलेको ।’ यतिसम्म दवाव दिएको अवस्था छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्‍न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफलमा पुगेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले घरेलु कामदारको अवस्थाबारे सुनाएकाे याे एउटा घटना हाे । याे घटना सुनाउँदा घिमिरे पटकपटक आफैँ भक्कानिएका थिए । उनी यसअघि नेपाली दूतावास साउदी अरबमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार