• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

‘पहिराे आउँदा म ढोकासम्म आएको याद छ, तर घरका अरु कहाँ गए थाहा छैन्’


भाद्र ३०, काठमाडाैं । बिहीबार सिन्धुपाल्चोकबाट रुगमबहादुर (नाम परिवर्तन) काभ्रेको पनौती आइपुग्दा लगभग रातको साढे १० बजेको थियो। यसअघि पनि उनी कैयौं पटक बुवा-आमासँग गाडी चढेका थिए। बुवाआमासँग आउँदा उनी प्राय: दिउँसो वा बिहान गाडी चढ्थे।

नौ वर्षीय रुगमलाई गाडी चढ्न मन पर्छ, नयाँ ठाउँ जान। अहिलेसम्म कति पटक गाडी चढे उनलाई याद छैन। पहिला गाडी चढ्दा उनी झ्यालबाट यताउति हेर्थे। चाख लागेका कुरा सोध्थे। घरी हाँस्थे घरी निदाउँथे। कहिले झ्यालबाट आउने हावासँग खुसी साट्थे।

यस पटक भने उनको गाडी अनुभव फरक थियो। उनको यात्रा पहिलाजस्तै धुलिखेल, बनेपा वा काठमाडौं थिएन। उनीसँग बुवा-आमासँग आएका पनि थिएनन्। बरू आफ्नो घर, परिवार, आफन्त, ठाउँ सबै छोडेर ६ वर्षीया बहिनीसँगै एसओएस बालग्राम काभ्रेमा आइपुगेका थिए।

हुन त उनीसँग अन्य पाँच जना साथीहरू पनि थिए। तर पनि यस पटक उनमा गाडी चढ्ने उत्साह थिएन। उनी यात्राभर खासै बोलेनन्। रातिको समय भएकाले होला, उनी धेरै समय गाडीमा निदाए।

शुक्रबार बालग्राम पुग्दा रुगम र उनकी बहिनी, साथीहरूसँग टिभी हेर्दै थिए। मौसम चिसो नभए पनि रुगमले निलो हुडमाथि गुलाबी र रातो रंगको ज्याकेट लगाएका थिए भने बहिनीले सेतो रङमा रातो बुट्टा भएको जामा लगाएकी थिइन्।

‘तिमी हिजो यहाँ आएको हो?,’ हामीले सोध्यौं। ‘हो,’ रुगमले भने। कसरी आयौ त भन्ने प्रश्नमा उनले चौताराबाट गाडीमा चढेर आएको बताए।

रुगम र उनकी बहिनी सिन्धुपाल्चोकको लिदी पहिरोपीडित हुन्। उनीहरूबारे जान्न केही समय पछाडि फर्किनुपर्छ।

गत साउन ३० गते जुगल गाउँपालिका वडा नम्बर २ स्थित लिदीमा पहिरो गयो। पहिरोले ३९ जना पुरिए। उनीहरूमध्ये ३६ जनाको शव फेला परेको छ, दुई जना अझै बेपत्ता छन्। सो घटनामा १२ जना बालबालिकाले अभिभावक गुमाएका थिए। उनीहरूमध्येकै हुन्, रुगम र उनकी बहिनी।

पाँच जना घाइते भएकोमा अहिले उपचारपछि निको भइसकेका छन्। प्रत्येक प्रभावित घरलाई एउटा टेन्ट दिइएको छ। गाउँपालिकाको अन्य वडामा पनि पहिरो गइरहेको छ।

कुराकानी गर्दैगर्दा रुगमबहादुरको ध्यान साथीहरूले खेलिरहेको फुटबलमा थियो। उनी शान्त देखिन्थे तर उनको चञ्चल बालापन आँखामा झल्किन्थ्यो। सायद उनी हामीसँग कुराकानी गर्नभन्दा बढी फुटबल खेल्न चाहन्थे।

‘तिमी पहिला पनि फुटबल खेल्थ्यौ?’ ‘सेलाङमा खेल्थें। अनि लिदीमा पनि छिमेकीको छोराहरूसँग खेल्थें,’ उनी बल्ल अलि खुले।

उनले फुटबल खेलेको प्रमाणस्वरूप खुट्टामा लागेको चोट देखाए। ‘त्यहाँ चिप्लो छ नि। खेल्दा चिप्लेर लड्या,’ उनले भने। उसो त पहिरोले उनको कलिलो छालामा चोट लागेकोमात्रै होइन, मनमा लागेको घाउ पनि निको भइसकेको छैन। त्यसैले, त्यो दिनको घटना उनको दिमागमा ताजै बसेको छ।

साउन ३० गते बिहान ६ बजेतिर रुगम सुतेर मोबाइल हेरिरहेका थिए। अचानक गुडुङ… गुडुङ…आवाज आयो। उनका बुवाले बाहिरबाट चिच्याउँदै भाग-भाग भने। रुगम बुवाको बोलीलाई पछ्याउँदै झ्यालबाट भागे।

रुगमलाई बुवाले बोलाउँदै ढोकासम्म आएको याद छ। बहिनी बुवाको साथमै भएको पनि थाहा छ। तर, खाटबाट नउठिसकेकाले घरका अन्य सदस्य कहाँ छन्, थाहा पाएनन्। उनी झ्यालबाट बाहिर निस्के तर पहिरोबाट भाग्न सकेनन्। पहिरोले उनलाई थिच्यो।

पहिरोमा परी उनीमात्रै होइन, बुवा, आमा, दाइ र बहिनी पनि पुरिए। छिमेकीले तत्काल घरबाहिर पुरिएका रुगम, उनका बुवा र बहिनीलाई  निकाले तर आमा र दाइ पहिरोमै बिलिन भए। पहिरोमा पुरिएका बुवा गाउँमै टेन्टमा छन्।

पहिरोमा पुरिएर कसैले बुवा गुमाए त कसैले आमा। कसैको त परिवार नै पहिरोमा पुरिए। ‘पहिरोमा पुरिएपछि हामीलाई लिदीबाट अस्पताल लैजानुभयो। अनि अस्पतालबाट घोल्जे ल्याएपछि त्यहाँबाट सिधै सेलाङ गयौं,’ रुगमले भने।

उनले भनेको सेलाङमा उनीसहित पहिरोबाट विस्थापित परिवारलाई अस्थायी बसोबास र खानाको व्यवस्था गरिएको थियो। उनीहरूलाई त्यहाँ नयाँ लुगा पनि दिइयो। रुगमले लगाएको बाक्लो लुगा पनि सरकारले दिएको हो।

पहिरोपछि त्यहाँका बासिन्दाको अवस्था दयनीय छ। यस्तो अवस्थामा बालबालिकाहरूको अवस्था झन् नाजुक छ। बालबालिकाको स्वास्थ्य, शिक्षा, पोषणलगायत अवस्थालाई मध्यनजर गर्दै एसओएस बालग्राम काभ्रेले रुगमसहित अभिभावक गुमाएका सात बालबालिकाको जिम्मेवारी लिएको छ।

सभामुख अग्नि सापकोटाको पहल र जुगल गाउँपालिकाको समन्वयमा बालबालिकाको जिम्मेवारी लिएको एसओएस बालग्रामका निर्देशक सुरेन्द्र आमगाईंले बताए।

‘हामीले पाँचदेखि १२ वर्षसम्मका छ जना बालक र एक जना बालिकालाई पिसिआर परीक्षण गरेर ल्याएका छौं। १२ वर्ष माथिका पाँच जनालाई बसोबास स्थलमै शिक्षा तथा संरक्षणमा सहयोग गर्छौँ,’ उनले भने।

बालग्राममा उनीहरूको हेरचाहका लागि दुई जना ‘अन्टी’हरू तयारी अवस्थामा थिए। उनीहरूले पुग्नेबित्तिकै बालबालिकालाई सरसफाइ गरिदिए।

‘सुरूमा उनीहरूले हामीलाई नौलो ठाने। तर हामीले सम्झायौं,’ रेखदेखमा संलग्न शर्मिला पौडेलले भनिन्, ‘सबै जना हामीले भनेको मानेर सुते। सानी नानीचाहिँ राति ‘ममी जाने’ भनेर रोइन्।’

अहिले सातै जना बालबालिका बालग्रामको संरक्षणमा क्वारेन्टाइनमा राखिएको छ। केही दिनमा उनीहरू बालग्रामका अन्य बालबालिकाजस्तै सामान्य दैनिकीमा फर्किने छन्।

एसओएस बालग्राममा १४ वटा घर छन्। एउटा घरमा ८-१० जना बस्छन्। प्रत्येक घरमा एक जना ममी र अन्टी छन्। रुगम र उनकी कहिनीले पनि त्यहाँ आफ्नो घर र परिवार पाइसके। उनीहरू आठ जनाको परिवार भएको छ। त्यहाँ जन्मे दिने बाबुआमा नभए पनि उनीहरूकोजस्तै स्याहार पाइरहेका छन्।

रुगम पहिले मोबाइल चलाएर दिन सुरू गर्थे। उनको दैनिकी विस्तारै फेरिँदैछ। अबदेखि उनको दिन अन्य साथीहरूसँग बिहानको भजनबाट हुनेछ।

सुत्नेदेखि उठ्ने, खाने, पढ्ने, खेल्ने समय हुनेछ। बालग्रामबाट नै उनीहरूलाई परिवारले दिने सम्पूर्ण स्याहार र हेरविचार पाउनेछन्। त्यहाँभित्रका सबै बालबालिका र कर्मचारी उनीहरूका आफन्त हुन्।

बालग्रामका निर्देशक सुरेन्द्र आमगाईंचाहिँ सबै बालबालिकाका बुवा हुन्। एसओएस बालग्रामको नियमअनुसार यहाँका बालबालिकालाई २३ वर्ष नपुगुन्जेलसम्म संस्थाले नै सहयोग गर्छ। त्यसपछि उनीहरू आफैं सक्षम हुनेछन् र स्वन्तन्त्र भई बाँच्न सक्नेछन्।

‘उनीहरू संस्थागत रूपमा मात्र हामीबाट छुट्टिनेछन्। भावनात्मक रूपमा हामीसँगको सम्बन्ध सदाको लागि हुनेछ,’ उनले भने।

-सेताेपाटीबाट

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार