• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा १२ वर्षीया बालिका बाबुको किरिया बसिन


भीम बहादुर परियार / असोज १, सल्यान ।

सल्यानमा एक १२ वर्षीया बालिका हिन्दु संस्कार अनुसार बाबुको किरिया बसेकी छन् ।

छोराले मात्र बाबुआमाको काज किरिया गर्ने परम्परालाई तोड्दै शारदा नगरपालिका १२ की १२ वर्षीया एलिसा परियार किरिया बसेकी हुन । दिवंगत बुवाको किरिया बस्दै उनीले सामाजमा छोरीमाथिको भेदभाव विरुद्ध सन्देश समेत दिएकी छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका ५ सम्झना टोलको आफ्नै घरबाट गत भाद्र ३० गते छतबाट लडी घाइते भएका कमल परियारको काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आफ्नो बुवाको सपना साकार पार्न आफु किरिया बसेका र छोरीले पनि काजकिरिया गर्न सक्छन भन्ने सन्देश दिन आफु किरिया बसेको परियारको भनाई छ । उनले भनिन ‘बाबुले आफूलाई हुर्काउन भोगेको दुःख, समस्या प्रति कृतज्ञता जनाउँदै म किरिया बसेकी हुँ ।’

छोराछोरी बराबर ठानेर पुरुषप्रधान समाजमा महिला सशक्तिकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको उनको भनाई छ ।

रुढीबादी र गलत संस्कार तोड्दै आफुले बाबुको किरिया गरि रहेको एलिसाले बताइन । उनले भनिन ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो । बुवाका सन्तान बहिनी र म मात्र हौँ । बुवाले हामी प्रति गरेको त्यागको सम्मान गर्दै किरिया बसेकी छु ।’

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार