• २०७७ कार्तिक ५ गते बुधवार
  • Preeti To Unicode

जनकपुर आउँदै गरेको नेपाली रेलकाे मुल्य कति हाे ?


असाेज २, काठमाडाैं । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो ।

६ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको बताए ।

महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहनेछ ।

भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहनेछ ।

दुई वटै रेल शुक्रबार जनकपुर रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ

कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म दुइटै रेल जयनगरमा राखिने उनले बताए । रेलको इन्जिन लामो समयसम्म त्यत्तिकै थन्क्याएर राख्न नमिल्ने र बेला बेलामा त्यसको मेकानिकल पार्टस्को ‘मेन्टेनेन्स’ गरिरहनुपर्ने भएको र नेपालमा तत्काल त्यो सेवा उपलब्ध नहुने भएकाले जयनगर स्टेसनमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

यो रेल एक अर्बको लागतमा खरिद गरिएको हो ।

नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ।

यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्। रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार