• २०७७ कार्तिक ९ गते आइतवार
  • Preeti To Unicode

जेसिबी पल्टिँदा शिक्षकको ज्यान गयो


असाेज ५ बझाङ । बझाङको बुंगल नगरपालिका  १ दहबगरमा जेसीबी (डाेजर) दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने तीन जना घाईते भएका छन् ।

आइतबार राति १२:३० बजे भएकाे जेसीबी दुर्घटनामा परी बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षीय मानबहादुर बोहराकाे मृत्यु भएकाे हाे । मृतक बाेहरा महेन्द्र मा‍वि दहबगरकाे प्राथमिक तहका स्थायी शिक्षक हुन् ।

त्यस्तै बुंगल नगरपालिका- ९ देउलीकोटका जेसीबी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका- १ दहबगर बस्ने २७ वर्षीय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

जेसीबी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएकाे छ । नगरपालिकाको वडा नं १ दहबगर क्रिकेट मैदान नजिक सडकमा फसेको जीप निकाल्न गएको र फसेकाे जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राति करिब १२:३० बजे लु १ क १२७८ नम्बरकाे जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए ।

घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामीकाे टोली खटिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार