हैदराबादमाथि कोलकाता हाबी, शुभमन गिलको अर्धशतकमा ७ विकेटले विजयी


अबुधाबी : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादमाथि कोलकाता नाइट राइडर्सले जित निकालेको छ। अबुधाबीस्थित शेख जायद रंगशालामा शनिबार राति भएको खेलमा शुभमन गिलको शानदार अर्धशतकसँगै कोलकाता ७ विकेटले विजयी भएको हो।

हैदराबादले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १४२ रन बनाएको थियो। १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टायो।कोलकाताका शुभमन गिलले शानदार अर्धशतक बनाए। उनले ६२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा नटआउट ७० रन जोडे। त्यस्तै इओन मार्गानले ४२ तथा नितिश रानाले २६ रन बनाए।

हैदराबादका लागि रसिद खान र खलिल अहमदले १/१ विकेट लिए। त्यस्तै टी नटराजनको नाममा १ विकेट रह्यो।यसअघि ब्याटिङ गरेको हैदराबादका लागि मनिश पान्डेले सर्वाधिक ५१ रन बनाए। त्यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोडे भने रिद्धिमन साहले ३० रन बनाए।

हैदराबादलाई रोक्न कोलकाताका प्याट क्यूमिन्सले कसिलो बलिङ गर्दै १ विकेट लिए। त्यस्तै वरुन चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट हात पारे।

आजको खेल राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबबीच रहेको छ। खेल साँझ ७ : ४५ बजे सारजाह क्रिकेट रंगशालामा सुरु हुनेछ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार