• २०७७ कार्तिक १० गते सोमवार
  • Preeti To Unicode

म मरिसके भनेको थिए तर अस्पताल पुगेपछि थाहा भयो ‘मैले पुनःजन्म पाएछु’


खकेन्द्र केसी

खकेन्द्र केसी

असोज २ गते म आफ्नो व्यक्तिगत र संस्थागत कामको शिलसिलामा दाङ झरे । मेरो कर्मथलो सल्यान सदरमुकाम खलंगाबाट म सिंगल एउटा बाइकमा र मेरो कोठा नजिकै बस्ने दाई पवन कुमार तथा दिदि एलिना सहित उहाँको छोरी ओजस्पी अर्कोको बाईकमा सँगसँगै हिडिउँ ।

हाम्रो यात्रा खलंगाबाट दिउँसो ३ बजेतिर सुरु भयो । विस्तारै बाइकमा हाम्रो यात्रा थियो । साँझ ६ बजेतिर दाङ तुलसीपुर पुगियो ।

दाङ पुगेपछि विभिन्न कामहरुमा व्यस्त भईयो । सबै साथीभाई तथा आफन्तजनहरुसँग भेटघाट, छलफल पनि भैरहेको थियो । २ गते दाङ झरेको म सबै काम सकेर ८ गते सल्यान फर्किने गरेर ७ गते साँझ टोपेन्द्र ओली दाईको घरमा बसेको थिए । उहाँ नाताले मेरो ठुलीआमाको छोरा हो ।

दाईको घरमा खाना पाक्दै थियो । हामी छतमा मजाले गफ गर्दै थियौं । त्यतिकैमा मेरो काइला अंकलकको छोरा नविन दाईले ‘एक्कैछिन मेरो घर आउनुपर्यो काम छ’ भनेर बोलाउनु भयो ।

त्यसपछि टोपेन्द्र दाईलाई एक्कैछिन म पर दाईको घर गएर आउछु भनेर बाइक स्टार गरेर हिडे । नविन दाईको घर जदाँ त्यहाँ अरु चारपाँच जना मान्छे पनि रहेछन् । त्यहाँ हाम्रो गाउँकी उमेरले १६/१७ वर्षकी एउटी नानी पनि थिइ । मैले चिनेको तुलसीपुरको एकजना सर पनि हुनुहुन्थ्यो ।

के भयो यहाँ भनेर मैले सोध्दा उहाँहरुले सबै कुरा सुनाउनु भयो । खासमा कुरो बुझ्दा त्यो नानी र त्यसको अर्को बहिनी त्यसभन्दा केहिदिन अघि घरबाट भागेर तुलसीपुर आएका रहेछन् । उनिहरुले अनेक बाहाना गर्दै मान्छेहरुलाई गलत कुरा भनेर आफुहरु अनाथ भएको र काममा लगाइदिन भनेका रहेछन् ।

एकदिन ति दुईबहिनी तुलसीपुरमा व्यवसायी गर्ने प्रकाश ओली सरको घरमा काम माग्दै गइछन् । म प्रकाश सरलाई राम्रोसँग चिन्छु । आफुहरु अनाथ भएको भन्दै उनिहरुले काम मागेपछि प्रकाश सरले एउटा होटल साहुजीलाई कुरा गरेर एउटीलाई होटलमा काम दिलाउनु भएछ भने अर्कोलाई आफ्नै परिवार सँग राख्नु भएछ ।

प्रकाश सरको म्याडम कपिलवस्तुको चन्द्रवटा नजिकै जागिर गर्नुहुन्छ । र त्यो नानीलाई पनि त्यहि परिवार सँग राख्न र पढाउन भनेर प्रकाश सरले चन्द्रवटा पठाउनु भएछ । तर त्यहाँ दुईचार दिन बसेर ति नानीले असोज ७ गते एकाएक आफु त्यहाँ नबस्ने र काठमाडौं जाने भनेर त्यहाँबाट निस्कन खोजिछन् ।

त्यसपछि प्रकाश सरले ति नानीलाई आफन्तको जिम्मा लगाएर मात्रै छोडिदिने निधो गर्नुभएछ । र पछि चारैतिर सम्पर्क गर्दै जाँदा उनको बुबासँग सम्पर्क हुन पुगेछ । प्रकाश सरले उनको बुबालाई सबै कुरा बताएपछि चन्द्रवटाबाट उद्धार गरेर तुलसीपुर ल्याउन ति नानीको बुबाले प्रकाश सरलाई भन्नुभएछ ।

नविन दाईको घरमा पुगेको म यो सबै कुरा सुनेर एकछिन छक्कै परे । त्यसपछि ति नानीलाई ल्याउनको लागि चन्द्रवटा जाने कुरा भयो । गाउँले दाजुभाईको नाताले प्रकाश सर सँग म पनि जाने भए, त्यसपछि तुलसीपुरमै हुनुभएका साथी बिरेन्द्र डिसीलाई पनि भने बिरेन्द्र सँगै भएका तुलाराम परियार भाई पनि जाने कुरा भयो ।

प्रकाश सरले एउटा स्कार्पियो रिजर्भ गर्नुभयो । साँझ गएर भोलिपल्ट बिहानै फर्किने गरि तुलसीपुरबाट सोहि दिन असोज ७ गते साँझ ७ बजेतिर हाम्रो यात्रा चन्द्रवटाको लागि भयो ।

गाडीमा म, प्रकाश सर, बिरेन्द्र, तुलाराम भाई र गाडी चालक थियौं । चालकले गाडी तिव्र गतिमै चलाइरहनु भएको थियो तर हामीले विस्तारै चलाउन आग्रह गरिरहेका थियौ । ८ बजेतिर हामी लमहीमा पुगेर खाना खायौं त्यसपछि अगाडी बढिउँ ।

दाङ जिल्ला पार गरिसकेपछि हामी कपिलबस्तुको पहाडी बाटोमा पुगिउँ । जहाँ ठाउँठाउँमा पहिरो आइरहेको थियो । गाडी रोकिरहेका थिए । ठाउँठाउँमा गाडी जाम थिए । यी पहिरो र गाडी जामलाई छिचोल्दै हामी रातको १ बजे चन्द्रवटा पुगिम ।

चन्द्रवटा पुगिसकेपछि ड्राइभरले तत्कालै फर्किने कुरा गर्नुभयो तर हामीले केहि घण्टा सुतेर बिहान मात्रै हिड्ने भनेपछि गाडीमै सुतिउँ । बिहान उज्यालो भएपछि ति नानीलाई प्रकाश सरको म्याडमको कोठाबाट रिसिभ गरेर ६ बजेतिर हामी दाङतिरको यात्रामा फर्कियौं ।

यात्राकै क्रममा थियौं । बिहान साढे ७ बजेतिर लमही आइपुगियौं । लमही आएपछि घोराही र तुलसीपुरको बीचमा पर्ने खोलाहरुमा बाढी ठुलो छ कि भन्ने हामीलाई आशंका भयो । र अमिलियाको बाटो जाने की घोराहीको बाटो जाने भन्नेमा दोधारमा परियो ।

सबैतिर फोन गरे बुझ्न थालियो र नास्ता पसलमा गएर चिया पनि खाना थालिम । करिब आधा घण्टा त्यस्तै दोधारमा परेपछि अब घोराहीकै बाटो जाने फिक्स भयो ।

त्यसपछि सुरु भयो हाम्रो कहालिलाग्दो घटना

मैले समय ठ्याक्कै हेरेको थिइन् तर करिब बिहानको ८ बजेको थियो होला हामी लमहीबाट अगाडी बढिम । म प्राय गाडीमा बस्दा निदाउने पनि गर्छु । गाडी तिब्र गतिमा थियो । हामीले चालकलाई विस्तारै चलाउन आग्रह गरिरहेका थियौं ।

गाडीको अगाडी ड्राइभर र एउटा सिटमा प्रकाश सर हुनुहुन्थ्यो । पछाडी बाँया साइटको सिसानेर म थिए । त्यसको दायाँतर्फ क्रमस गाउँको ति नानी, अनि तुलाराम भाई र दायाँको सिसानेर बिरेन्द्र हुनुहुन्थ्यो ।

लमहीदेखि अलि अगाडी अन्दाजी दुई किलोमिटर आउँदासम्म म निद्रामा थिइन । त्यसपछि क्रमस निद्राले च्याप्यो । गाडी स्पीड थियो आँखा झिमिक्क हुँदै थिए, एउटा घुम्तीमा आउँदा अनब्यालेन्स भएर गाडी घुम्न थाल्यो ।

मेरा आँखा पनि एक्कासी खुले । हेर्दा त हामी फिल्मी स्टाइल जस्तै गरेर सडकको छेउबाट तलतिर गाडी सँगै उडिरहेका रहेछौं । त्यसपछि म बेहोस भएछु ।

गाडी सँगै तल जंगलमा पुगरे बाहिर निस्कदा यति मात्रै बोलि आयो ‘गुहार गुहार, कोहि छ भने मलाई बचाउनुहोस’ शरिर हेर्दा पुरै रक्ताम्मे थियो । माथी सडकबाट कोहि मान्छे झरे जस्तो लाग्थ्यो तर आवाज केहि सुनिदैनथियोे, र म पनि सधैको लागि मरे जस्तै भयो ।

त्यसपछि थाहा भयो म एउटा अस्पतालको बेडमा रहेछु । म सँगै छेउको अर्को बेडमा बिरेन्द्र पनि हुनुुन्छ । र दिमागले अरु केहि पनि सोच्न सकेन् । गाडी सडकको छेउबाट उडेर गएको हो भन्ने मात्रै मेरो दिमागमा बस्यो ।

तर हामी कहाँ आएका हौं । कहाँ छौं भन्ने कुरा एक छिन दिमागले सोच्नै सकेन् । त्यसपछि मलाई डर लाग्यो ‘मेरो स्मरण शक्ती गुम्यो । म आत्तिए जस्तो भयो । डाक्टरले सम्झाउदै हुनहुन्थ्यो’ करिब ३ मिनेट पछि मात्रै सबै कुरा सोच्न सक्ने भयो ।

त्यसपछि आफन्त र साथीभाईहरुलाई खबर गर्नुपर्छ भन्ने भयो । मेरो मोबाइल गोजिमा थिएन् । बिरेन्द्रको एउटा सानो मोबाइल गोजिमा रहेछ । त्यसपछि हामीले दिमागमा सेभ भएका केहि नम्बरहरुमा फोन गर्न थालिम । सुरुमा डिल्लीराज रावत दाईको नम्बरमा फोन गरियो र प्रगति दिदिले फोन उठाउनु भयो । हामी लमहीमा दुर्घटनामा परेर अस्पतालमा छौं भनियो ।

अनि घोराहीमा हुनुभएको साथी एक्सनलाई पनि फोन गरेर लमहीको फलोरेन्स अस्पताल आउन भनियो । तुलसीपुरमा हुने टोपेन्द्र दाईको नम्बर ठ्याक्कै कन्ठ थिएन तर उहाँ समक्ष खबर पुर्याउन खलंगामा हुने पवन दाईलाई फोन गरेर रमेश गौतम मार्फत टोपेन्द्र दाईलाई खबर गर्न भनिम ।

हामी अस्पतालमै थियो । घोराहीबाट साथी एक्सन आर्सी, भरत रोकाय, तुलसीपुरबाट दाईहरु टोपेन्द्र ओली, नविन केसी, डिल्ली केसी आउनुभयो ।

बिरेन्द्र र मेरो फलोरेन्स अस्पतालमा उपचार भैरहेको थियो । अन्य ४ जनाको अरु अस्पतालमा उपचार भैरहेको भन्ने खबर आयो । हाम्रो शरिरमा चोट लागेका घाउँहरु थिए । रगतले कपडा पुरै मुछिएका थिए । पछि डाक्टरले अवस्था सामान्य छ भनेपछि अलि मन शान्त भयो ।

भिडियो एक्सरे गरियो । भित्री चोट पनि केहि देखिएन् । हामी सँग दुर्घटनामा परेका तुलाराम भाई र ड्राइभरलाई नेपालगन्ज रिफर गरियो । हाम्रो अवस्था सामान्य भएपछि घोराहीमा उपचार गर्ने भन्दै हामी ४ जना लमहीबाट डिस्चार्ज भयौं । घटनास्थलमा भेटिएका हाम्रा मोबाइल प्रहरीले दियो ।

फर्किदा गाडी दुर्घटना भएको ठाउँ हेरियो । दुर्घटनाको अवस्था हेर्दा पुनःजन्म पाएजस्तो भयो । गाडी सडकदेखि करिब ५० मिटर तल खसेको थियो । बाँच्ने जस्तो ठाउँ पनि थिएन् तर भाग्य बलियो भएर होला सकुशल बाँचिएछ ।

पछि सबै घटना हेर्दा गाडी स्पीडमा थियो । घुम्ती कटाउन नसकेर सिधै सडक बाहिर गयो । सडकको छेउँमा एउटा ठुलो चट्टान थियो । त्यहि चट्टानमा गाडी ठोकिएछ । अनि विस्तारै बिल्डीङ मार्दै तलतिर खसेछ ।

गाडी पल्टिदै बिच भागमा पुग्दा सम्म सुरुमा बिरेन्द्र खस्नुभएछ । त्यसपछि म खसेछु । अरु साथीहरु तलै खस्नुभएछ । बिरेन्द्र गुहार माग्दै सडकसम्म आउनु भयो । म पनि बेहोसको तालमा सडकको छेउसम्म आएपुगेछु ।

एकजना दाईले आफ्नो कारमा बसालेर हामी दुवैलाई अस्पताल लिनुभएछ । त्यसपछि प्रहरी पुगेर अरुलाई उद्धार गरेर गाडीमा हालेर अस्पताल लिएछ ।

हामी दुर्घटनाको ठाउँ पनि हेरेर घोराही आयौं । अरु तुलसीपुर जानु भयो । म र बिरेन्द्र सँगै टोपेन्द्र दाई, एक्सन र दिपेश घोराहीमै बसिम । उहाँहरुले घोराहीमा धेरै सहयोग गर्नुभयो । अस्पतालमा पुगेर एक्सरे र चोटहरु देखायौं । शरिरको फरक फरक भागको समस्या देखाउन फरक फरक डाक्टर र अस्पतालमा पुगियो ।

धेरैका फोनहरु आइरहेका थिए । मेरो फोन साथी दिपेशले उठाइरहनु भएको थियो । मुखमा चोट लागेर हामी धेरै बोल्न सक्ने अवस्था थिएन ।

भोलिपल्ट असोज ९ गते दिउँसो घोराहीबाट तुलसीपुर आयौं । तुलसीपुरमा टोपेन्द्र दाईकै घरमा बसियो । जहाँ दाईको सहयोग अजम्बरी छ । यो बीचमा धेरैले फोनमा कुरा गर्नुभयो । कोहि प्रत्यक्ष भेट्न आउनु भयो ।

म भन्दा बिरेन्द्र अलि छिटो ठिक हुनु भयो । उहाँ १५ गते सल्यान आउनु भयो । मेरो शरिर अलि धेरै दुखेको कारण म २० गतेसम्म बसे । र आज किलियर भएर आफै बाइक चलाएर तुलसीपुरबाट सल्यान खलंगा आइपुगेको छ ।

यो लेख लेखेर बिट मार्दै गर्दा अहिले रातको ठ्याक्कै १० बजेको छ । जिवन एउटा यात्राको बाटो हो । जहाँ जतिखेर जे पनि हुन सक्छ । दुर्घटना भनेको यो मितिमा हुन्छ भनेर सोचेर आउने होइन् । कुनै यस्ता भायांकर दुर्घटना हुन्छ । जहाँ कमै मात्रामा बाचिन्छ ।

यसपटक हामी मृत्युको मुखमा पुगेर आएका छौं । अब जिवनमा धेरै गर्नु छ, र गर्नुपर्छ । मृत्युले त्यो अवसर हामीलाई दिएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार