• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

भोलिपल्टै स्वदेश फर्किए ‘डच’


Author Logo..
एजेन्सी

कार्तिक ३, काठमाडाैं । कोरोना भाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूको तीव्र विरोध भएपछि उनीहरू भोलिपल्ट नै स्वदेश फर्किएका छन्।

नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए तर विरोधपछि उनीहरू शनिवार साँझ नै स्वदेश फर्किएका छन्।

विदामा ग्रीस जान हिँडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताएका छन्।

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उनीसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दरबारको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्‍याउँदैन।’

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बनेका हुन्।

नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न। तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ।

-एजेन्सी

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार