• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा नेकपा र कांग्रेस बीचकाे विवाद समाधान


कार्तिक ४, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेकपा र कांग्रेसका जनप्रतिनिधि बीचकाे विवाद समाधान भएकाे छ ।

गत असार देखी जारी रहेको विवाद र असमझदारी साेमबार अन्त्य भएको हाे । सोमबार बसेको कार्यपालिका बैठकमा दुई दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु बिच सहमति र सहकार्यका आधार अगाडि बड्ने सहमति भए सँगै तत्कालको लागी विवाद अन्त्य भएको हो ।

बैठकमा दुई दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु बिच चालु आर्थिक बर्ष २०७७/०७८ को निति कार्यक्रम र बजेट पारित गर्ने निर्णय भएको गाउँपालिका स्रोतले बताएको छ ।

त्यस्तै गाउँपालिकाका नियमित कामहरु सुचारु गर्ने र करार कर्मचारीकहरुको बिषयमा पनि कार्यपालिका बैठकमा छलफल गरेर समझदारी गर्ने सहमति भएको स्रोतले बताएको छ ।

छत्रेश्वरी गाउपालिकामा गाउँसभामा बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी निकट जनप्रतिनिधिहरुले करार कर्मचारी, यातायात साधनहरु प्रयोग, विषयगत समिति गठन लगाएत विषयमा असहमति जनाउदै विरोध गरेपछि गाउँपालिकाको चालु आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट पारित हुन सकेको थिएन ।

बजेट अभावमा दैनिक प्रशासन संचालन र कामकाजहरुमा समस्या उत्पन्न भएर पर्न गएको असुबिधा प्रति गाउँपालिकाले क्षमा याचना गरेको छ । साथै आगामी दिनहरुमा विकास निर्माण तथा सेवा प्रवाहमा सरलता र सहजता ल्याउने पनि गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार