• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

राज्यले दिएको ३ सय दशैं खर्च बाजुराका कैदीबन्दिद्वारा अस्विकार


कात्तिक ७, बाजुरा । बाजुरा कारागारमा रहेका केहि कैदीबन्दीले दशैँ खर्च लिन अस्विकार गरेका छन् ।

राजनीतिक आस्थाका ११ राजबन्दीले राज्यले अपमानित गरेको भन्दै दशैँ खर्च लिन अस्विकार गरेका हुन् ।

उनीहरुले राज्यले दशैं खर्च भन्दै टालटील पार्न ३ सय रुपैयाँ दिएर बन्दिहरुलाई आपमान गरेको बताएका छन् ।
राज्यले कैदीबन्दिलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरकाले दशैं खर्च नलिने निर्णय गरेको उनीहरुको भनाई छ ।

महंगी बढ्दै गएको र राज्यले दैनिक छुट्याएको दैनिक ६० रुपैया र ७०० सय ग्राम चामलले विहान बेलुकाको खाना र नास्ता पेटभरी खान नपुग्ने उनीहरुको भनाइ छ ।

राज्यले कैदीबन्दिहरुलाई राम्रो व्यवहार नगरेकाले दशैं बोनस कुनैपनि हालतमा नलिने उनीहरुले अडान लिएका छन् ।

बाजुरा कारागारमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्दीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित राजनीतिक आस्थाका ११ जना राजबन्दि रहेका छन् ।

क्षमता भन्दै दोब्बर कैदीबन्दि हुँदा समस्यै समस्या

बाजुरा कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ ।

कारागारको कुल क्षमता २५ जना भए पनि हाल ५० भन्दा बढी कैदीबन्दि राखिएको कैदीबन्दिहरुले बताएका छन् ।

सुत्न, बस्न, हिँडडुलदेखि शौचालय जान पनि पालो कुरेर बस्र्नुपर्ने अवस्था रहेको उनिहरुको भनाइ छ । एकै ठाउँमा धेरै समय बस्नुपर्ने भएकाले कैदी बन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ ।

नाइकेको नाममा दादागिरि

आन्तरिक प्रसासनको नाममा नाइके राखेर बन्दिहरुमाथि दमन गरिरहेको कैदीबन्दिहरुले बताएका छन् ।

कारागारमा बनाइएको नाइकेले कैदीहरुमाथि अनावश्यक दमन गरेर आफुहरुको गम्भीर मानव अधिकार हनन भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार